कुन्दुज- अफगानिस्तानमा तालिवान विद्रोहीसँग सरकारी सेनाको भीडन्त हुँदा २० सुरक्षाकर्मीसहित ४२ जनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका छन्।
'उत्तरी कुन्दुज र छिमेकी बागलान प्रान्तमा मङ्गलबार विभिन्न सुरक्षा चौकीमा एकैसाथ आक्रमण थालेपछि भएकाे प्रतिरोधका क्रममा २२ जना लडाकूका साथै २० जना सुरक्षाकर्मीको मृत्यु भएको छ', एक जना स्थानीय अधिकारीले बताए।
घाइते बनेका केही लडाकूलाई विद्रोहीले लिएर भागेका पनि उनले बताए।
यसैबीच उत्तरी क्षेत्रका लागि राष्ट्रिय सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाईले सुरक्षाकर्मीतर्फ भएको क्षतिबारे जानकारी नगराइकन २२ जना तालिवान लडाकूको मृत्यु भएको र १८ जना घाइते भएका जानकारी दिए। रेजाईले विद्रोही अहिले भीडन्त भएका स्थानहरूबाट भागिसकेका दाबी गरे।
घटनामा दर्जनौँ सुरक्षाकर्मीको मृत्यु भएको र करिब ३० जना घाइते भएका एक स्थानीयले बताए।
तालिवान समूहका प्रवक्ता जाविहुल्ला मजाहिदले सञ्चार माध्यमहरूलाई दिएको जानकारीमा विद्रोही लडाकूले सरकारी सुरक्षाफौजमाथि गरेको कारबाहीमा सुरूमा १० जना प्रहरीको मृत्यु भएको र केही सुरक्षा चौकीहरूलाई नियन्त्रणमा लिने क्रममा थप केही सुरक्षाकर्मीको मृत्यु भएको दाबी गरे। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।