काठमाडौं– संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको स्वास्थ्य उपसमितिले सरकारले सक्रियता नदेखाए मुलुकको स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती खडा हुने निष्कर्ष निकालेको छ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको स्वास्थ्य उपसमितिले मंगलबार समितिलाई बुझाएको प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रियता नदेखाए मुलुकको स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती खडा हुने उल्लेख छ।
सम्बन्धित मन्त्रालयले सक्रियता मुलुकको स्वास्थ्य क्षेत्रमा गम्भिर चुनौती खडा हुने उपसमितिका संयोजक खगराज अधिकारीले जानकारी दिए। ‘स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गतका अस्पतालसँग अन्तर्क्रिया गरी तयार पारिएको सो प्रतिवेदनमा जनताको सेवा प्रवाहमा गम्भीर समस्या हुने देखिएको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरकारलाई सक्रियताका साथ काम गर्न पनि सचेत गराइएको छ,’ उपसमितिका संयोजक अधिकारीले भने।
उपसमितिले सबै स्थानीय तहमा अस्पताल बनाई परिचालन गर्न आवश्यक व्यवस्था गर्न सरकारलाई सचेत गराउनपर्ने सुझाव पनि दिएको छ। त्यसैगरी, केन्द्रीय अस्पतालका फार्मेसी, इमर्जेन्सी, आईसियू, सिसियू, जेनेरल वार्ड, ओपिडीलगायतका सेवामा न्यूनतम मापदण्ड पनि कार्यान्वयन नगरिएको उल्लेख गर्दै त्यसको उचित व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ।
त्यस्तै स्वीकृति नलिई संचालनमा रहेका औषधि पसल प्रतिबन्ध गराउने व्यवस्थालाई कडाईका साथ पालना गराउन पनि सरकारलाई सचेत गराउनुपर्ने सुझाव पनि प्रतिवेदनमा उल्लेख गरिएको उपसमितिका संयोजक अधिकारीले बताए।
उपसमितिले स्थानीय तहसम्म विशेषज्ञ सेवा विस्तार गर्ने काममा ढिलाई नगर्न पनि सरकारलाई निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको छ। स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन पनि सरकारलाई सुझाव दिइएको उपसमितिका संयोजक अधिकारीले बताए.
विभिन्न २० वटा अस्पतालहरुसँग अन्तरक्रिया गरी तयार पारिएको प्रतिवेदनमा स्वास्थ्य नीतिलाई समय सापेक्ष बनाउन माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।