बुटवल- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध पारेका छन्। सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरु भएको घोषणा गरेलगत्तै कांग्रेस सांसदहरु आसनबाट उठेर आफूहरुको विरोध रहेको जनाएसँगै बैठक अवरुद्ध बनेको थियो।
सभामुखले विरोधको विषय पोडियमबाट राख्न अनुमति दिएपछि संसदीय दलका नेता बलदेव शर्माले प्रदेश ५ को नामकरण र राजधानी टुंगो लगाउन बनेको विशेष समितिले प्रतिवेदन बुझाउनुपर्ने समयमा प्रतिनिधित्व नभएका जिल्लाहरुबाट सदस्य संख्या थप्ने चलखेल भएको भन्दै आफूहरुले संसद् अघि बढ्न नदिने बताए।
लगत्तै सभामुख घर्तीले प्रतिपक्ष दलले उठाएको विषय बैठकको कार्यसूचीमा नरहेकाले विरोध जनाउन आवश्यक नभएको भन्दै आआफ्नो आसनमा बस्न आग्रह गरे। तर कांग्रेस सांसदहरुले सदन चल्न नदिने अडान लिएपछि सभामुखले यो विषयमा सत्तापक्षको धारणा राख्न भन्दै नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका सचेतक भूमिश्वर ढकाललाई अनुमति दिएर बैठक अगाडि बढाउन खोजे।
कांग्रेस सांसदहरुले आफूहरुको विरोधका बाबजुद बैठक अगाडि नबढाउन सभामुख घर्तीलाई दबाब दिए पनि सभामुखको अनुमति पाएपछि नेकपाका सचेतक ढकालले कांग्रेस सांसदहरुको होहल्ला र विरोधका बाबजुद आफ्नो धारणा राखे।
विशेष समितिमा प्रतिनिधित्व नभएका जिल्ला बर्दिया, रुकुम र परासीबाट एकएक जना सदस्य थप्दा समितिलाई काम गर्न सजिलो हुने धारणा आएकाले सभामुख समक्ष यो प्रस्ताव राखिएको धारणा ढकालको थियो।
होहल्लाका बीच ढकालले बोलेपछि सभामुख घर्तीले सत्तापक्षले प्रस्ताव राखे पनि उक्त विषय बैठकको कार्यसूचीमा नरहेकाले नियमित बैठक सञ्चालनमा अवरोध नगर्न र उक्त विषयमा बाहिर सहमति गरेर निष्कर्ष निकाल्न आग्रह गर्दै बैठक अगाडि बढाउने प्रयत्न गरे।
सभामुखले जबर्जस्ती गर्न थालेपछि कांग्रेस सांसदहरु रोष्ट्रम घेराउका लागि अगाडि उभिए। सभामुखले बारम्बार आग्रह गरे पनि कांग्रेस सांसदहरुले मानेनन्। अन्ततः माघ २४ गते सम्मका लागि बैठक स्थगित भयो।
सभामुख प्रतिपक्ष भनाभन
बैठकको कार्यसूचीमा नभएको एजेन्डामा विवाद नगर्न सभामुखले आग्रह गरेपछि कांग्रेस सांसद र सभामुखवीच पटकपटक भनाभन भयो।
संसदीय दलका नेता बलदेव शर्माले एजेन्डामा नभएको विषय भनेर सभामुखले छलकपट गर्न खोजेको आरोप लगाए। लगत्तै सभामुख घर्तीले छलकपट गरेको विषय पुष्टि गर्न चुनौती दिए। उनले यस्तो अपरिपक्क निर्णय नगर्नुस् भनेपछि कांग्रेस सांसद अष्टभुजा पाठकले सभामुखले राजनीति गर्न खोजेको आरोप लगाए। उनको प्रतिवाद गर्दै सभामुखले भने, 'राजनीतिक गरेरै आएको हो, तर अहिले सभामुखको राजनीति गर्दैछु महोदय।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।