बाँके- बर्दियाको बढैयाताल गाउँपालिका–२ मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ।
बाघकै आक्रमणमा परी अर्का स्थानीय ३० वर्षीय विजय बुढा घाइते भएका छन्। बुढालाई बाघले आक्रमण गर्दा उनको टाउको, ढाड र घाँटीमा चोट लागेको छ। घाइते दुवै जनालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागि ल्याइए पनि शाहीको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरी चौकी जमुनीका इन्चार्ज प्रहरी नायब निरीक्षक लोकेन्द्र कार्कीका अनुसार गौघाटबाट सीतापुर जाने पक्की पुलको बाटोमा सोमबार साँझ उनीहरुमाथि पाटेबाघले आक्रमण गरेको थियो। नहर नजिकै रहरबारीमा रहेको पाटेबाघले आक्रमण गरेको हो।
'शाहीलाई बाघले आक्रमण गरेलगत्तै पुनः विजय बुढामाथि बाघ जाइलागेको थियो,' स्थानीयवासी गणेश राईले भने। सो क्षेत्रमा सुरक्षाका लागि इलाका प्रहरी चौकी मैनापोखर, प्रहरी चौकी जमुनी र सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्पबाट सुरक्षाकर्मी घटनास्थलमा खटाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।