धरान- प्रदेश १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन्। ७ विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए।
प्रदेशसभाको २ सय २३ दिनको अवधिमा जम्मा ७४ दिनमा ९७ पटक बैठक बसेको प्रदेश सचिवलायले जनाएको छ। समयको हिसाबले जम्मा ८८ घन्टा ३३ मिनेट संसद बैठक बसेको थियो।
सङ्घबाट लोकसेवा, प्रहरी, शिक्षालगायतका ऐन बेलामा नबन्दा कानुन बाझिने भएकाले थप कानुन निर्माणमा अवरोध भएको सभामुख भण्डारीले बताए। अन्य प्रदेशभन्दा प्रदेश १ बाट सबैभन्दा बढी कानुन पारित भएको उनकाे भनाइ छ। हालसम्मका ९७ बैठक तथा २३ कानुन पारित गर्दा कुनै विवाद नभएको र बैठकसमेत एकै दिन पनि अवरोध नभएको सचिवालयले जनाएको छ।
प्रदेश १ मा जम्मा ९३ प्रदेशसभा सदस्य रहेका छन्। जसमध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ६७, (पूर्व एमाले ५१, पूर्व माओवादी केन्द्र १६) नेपाली कांग्रेस २१, सङ्घीय समाजवादी फोरम नेपाल ३, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक/एक जना रहेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।