चितवन- पवित्र तीर्थस्थल देवघाटमा मङ्गलबारदेखि विराट ज्ञानमहायज्ञ गर्न लागिएको छ। महेश सन्यास आश्रम तथा महेश गुरुकूलको रजत वर्ष एवम् १००८ डा स्वामी रामानन्द गिरिजी महाराजको पूण्यतिथिको उपलक्ष्यमा महायज्ञ गर्न लागिएको हो। महायज्ञमा १०८ श्रीमद्भागवत पाठपारायण गरिने छ।
महायज्ञमा चारै वेद, विभिन्न पुराणको पाठपारायण, शक्तिको आराधना र ब्रह्मगायत्रीद्वारा विधिपूर्वक लक्ष्यहवन गरिने महायज्ञ मूल आयोजक समितिका महासचिव डा गुरुप्रसाद सुवेदीले बताए।
प्रचारप्रसार समितिका संयोजक टङ्कनाथ पौडेलका अनुसार महायज्ञका लागि १००८ स्वामी रमणानन्द गिरीको अध्यक्षतामा एक हजार आठ सदस्यीय आयोजक मूल समारोह समितिसमेत गठन गरिएको छ। यस्तै, ६० जिल्लामा उपसमिति गठन गरी प्रचारप्रसारलाई व्यापक बनाइएको छ।

महायज्ञ मूल आयोजक समितिका सचिव ध्रुव अधिकारीका अनुसार वैदिक सनातन धर्म, संस्कृतिको संरक्षण र संस्कृत शिक्षाको प्रचारप्रसार गर्ने उद्देश्यले विसं २०५० मा स्थापना भएको गुरुकूलमा महायज्ञ आयोजना गर्न लागिएको हो।
महायज्ञमा प्रमुख कथा वाचकका रुपमा आश्रमका पिठाधीश १००८ स्वामी रमणानन्द गिरि छन्। सो गुरुकूलमा कक्षा ६ देखि आचार्यसम्म गरी हाल ३ सय विद्यार्थी अध्ययनरत छन्।
महायज्ञ फागुन १ गतेसम्म चल्नेछ। यसअघि गुरुकूलले विसं २०६५ मा पहिलोपटक विराट ज्ञान महायज्ञको आयोजना गरेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।