काठमाडाैं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कम्युनिष्टलाई मुसासँग तुलना गरेका छन्। उनले कांग्रेसका लागि कम्युनिष्ट मुसाे भएकाे टिप्पणी गरेका हुन्।
सोमबार काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्वोधन गर्दै नेता जोशीले भने, ‘दम्भ र झुटको खेती गरेर कांग्रेसलाई कमजोर ठान्छ भने राणा, पञ्चायत र राजाविरुद्ध लडेको कांग्रेसका लागि कम्युनिस्ट कुन मुसो हो र?’
यस्तै अर्का नेता प्रकाशमान सिंहले नेपालको राजनीतिबाट राणा, पञ्चायत र राजालाई बिदा गरेको नेपाली कांग्रेसलाई नजिस्काउन कम्युनिष्ट सरकारलाई चेतावनी दिएका छन्।
नेता सिंहले शालिनपूर्वक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको कांग्रेसलाई कमजोर नठान्न आग्रह पनि गरे। ‘म यो सरकारलाई स्ट्राेङ म्यासेज दिन चाहन्छु, प्रतिपक्षीको भूमिका निभाउँदा कांग्रेसलाई कमजोर ठानिन्छ भने यो ठूलो भूल हुनेछ।’
दुई तिहाइको दम्भ बोकेको सरकार जतिबेला पनि बिदा हुनसक्ने उनकाे दाबी छ। राजा, पञ्चायत र राणाजस्तै कम्युनिष्टलाई पनि कुन समय जनताले बिदा दिन्छ त्यसको ठेगान नभएको उनकाे भनाइ छ।
‘दुई तिहाईकाे घमण्ड चढेको छ, तर निर्मला पन्तका हत्यारालाई ६ महिनासम्म पत्ता लगाउन सक्दैन, यस्तो सरकारलाई बलियो सरकार मान्न सकिदैन’, नेता सिंहले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।