काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रपात्रोअनुसार नयाँ वर्षका रूपमा तामाङ समुदायले मनाउने सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन्।
सोनाम ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न सकेमा विश्वसामु नेपाल र नेपालीको पहिचान कायम राख्न सकिने तर्क गरिन्। उनले यसतर्फ सबैको ध्यान जानुपर्नेमा जाेड दिइन्।
सन्देशमा राष्ट्रपतिले भनेकी छिन्, 'नेपालसहित सिङ्गापुर, मलेसिया, भारत, थाइल्यान्ड, मङ्गोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायत देशमा समेत फरक-फरक नाम र शैलीमा मनाइने सोनाम ल्होसार पर्वले विश्वशान्ति र भ्रातृत्व प्रवर्द्धनमा समेत उत्तिकै टेवा पुग्ने मैले विश्वास लिएकी छु।'
राष्ट्रपतिले यस पर्वबाट सबै नेपालीबीच एकता सुदृढ गर्दै नयाँ उत्साह एवम् उमङ्गका साथ देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामनासमेत गरेकी छिन्।
यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको धार्मिक एवम् सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन्।
तामाङ समुदायको २८५५औं सोनाम ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कुकुर वर्ग (वर्ष)को बिदाइ र सुँगुर वर्ग (वर्ष)को स्वागत गरेर मनाइने सोनाम ल्होसारका अवसरमा सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइ र नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
उपराष्ट्रपतिले नेपाल राष्ट्रको पहिचान र अमूल्य निधिका रुपमा रहेका मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने प्रमुख दायित्व राज्यको रहेको औंल्याउँदै यसतर्फ सबैको ध्यान जाने विश्वाससमेत गरेका छन्।
सोनाम ल्होसारकै अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको बताएका छन्।
उनले विविध सांस्कृतिक परम्परा र संस्कृतिले नेपाललाई विश्वमा अलग पहिचान दिएको दाबी गरेका छन्।
प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, 'नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो। यहाँ हरेक जातजातिका आ-आफ्नै परम्परा, चाडपर्व, भेषभूषा रहेका छन्। मुलुकमा बसोबास गर्ने सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान छ।'
वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य राखेर अघि बढेको स्पष्ट पार्दै उनले यस यात्रामा देशका सबै जातजाति, धर्म र सम्प्रदायको योगदान अपेक्षित रहेको धारणा राखेका छन्। 'हाम्रा सांस्कृतिक पर्व, भेषभूषामार्फत पनि समृद्धिको अभियानमा टेवा पुर्याउन सकिन्छ। यस्ता सम्पदालाई पर्यटक आकर्षण गर्ने माध्यमका रुपमा समेत विकास गर्न सकियो भने हाम्रो संस्कृति पनि जीवित रहन्छ। यस्ता सम्पदाको अवलोकनका लागि स्थानीयस्तरमा पुग्ने पर्यटकमार्फत आयआर्जन गर्न पनि सकिन्छ', सन्देशमा जनाइएकाे छ।
प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकाना व्यक्त गरेका छन्।
यसै उपलक्ष्यमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोनाम ल्होसारका उपलक्ष्यमा सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
आज एक शुभकामना सन्देश जारी गर्दै उनले विविधताले भरिएको नेपाली समाजमा गर्व गर्नलायक धार्मिक–सांस्कृतिक रीतिरिवाज र परम्परामध्ये सोनाम ल्होसारले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गरेका छन्।
यस पर्व आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाउने काममा कोशेढुङ्गा सावित भएको विज्ञप्तिमा उल्लेख छ।
सभापति देउवाले यस पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिएका छन्।
यस्तै सभामुख कृष्णबहादुर महराले सोनाम ल्होसार पर्वले नेपाली–नेपालीबीच आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र भ्रातृत्वको विकास गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
सोनाम ल्होसारका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले नेपालका विविध सांस्कृतिक सम्पदा, चाडपर्व र संस्कृतिले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।
उनले सन्देशमा हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी भएको उल्लेख गर्दै यही विविधताले नै विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।