गुजरात- प्रदुषण नियन्त्रणका लागि भन्दै भारतको गुजरातमा रहेको पारुल विश्वविद्यालयले क्याम्पसमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाएको छ।
शिक्षक र विद्यार्थीहरुको स्वास्थ्य र क्याम्पसको वातावरणलाई कार्वनका कारण थप बिग्रन नदिनका लागि यस्तो व्यवस्था गरिएको क्याम्पसले जनाएको छ।
क्याम्पसमा यातायातका लागि साइकलको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
क्याम्पसमा प्रयोगका लागि विश्वविद्यालयले अहिले पहिलो चरणमा एक सय साइकल पनि ल्याएको छ।
साइकल प्रयोग गर्न चाहनेलाई दैनिक, साप्ताहिक वा मासिक रुपमा न्यून भाडा शुल्क बुझाएर प्रयोग गर्न पाउने व्यवस्था पनि गरिएको छ।
हरित तथा स्वच्छ वातावरण बनाउने उद्देश्य पूरा गर्न क्याम्पसमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाइएको क्याम्पसका उच्च अधिकारीहरुले बताएका छन्।
'विश्वविद्यालय झन्डै १ सय २० एकडमा फैलिएको छ, विद्यार्थी र शिक्षकहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान धेरै समय लाग्छ, त्यसैले हामीले साइकलको व्यवस्था गर्न लागेका हाैं', क्याम्पसका अध्यक्ष देभेशुं पटेलले भने। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।