जनकपुर- प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशको नाम, भाषा तथा राजधानी प्रदेश सभाबाट शीघ्र निर्णय गर्न आग्रह गरेका छन्। उनले प्रदेशको नामाकरण, स्थायी राजधानी र कामकाजी भाषा बारे अब निर्णय गर्न ढीला गर्न नहुने सुझाव दिएका हुन्।
प्रदेश २ को प्रदेशसभाको पहिलो वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै उनले संघीयता पश्चात पहिलो पटक स्थापित प्रदेशसभाले पहिलो वर्ष पूरा गरेकोमा शुभकामना व्यक्त गरे।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री लाल बाबु राउतले कर्मचारी अभावले प्रदेशको कार्य गर्न कठिनाई भईरहेको बताएका थिए।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रदेशमा कानुन निर्माण गर्नका सबै दलले साथ सहयोग दिई रहेकोमा खुशी व्यक्त गरे।
प्रदेशसभाले त्रिदिवसीय कार्यक्रम गरी प्रदेश सभाले पहिलो वार्षिकोत्सव मनाएको हो। उक्त कार्यक्रममा भलिबल तथा ब्याडमिन्टन खेलमा प्रथम, द्वितीय तथा तृतीय हुने माननीय मन्त्री तथा कर्मचारी खेलाडीहरुलाई प्रमाणपत्रका साथै ट्रफी प्रदान गरिएको थियो।
त्यस्तै, रक्तदातालाई कार्यक्रममा प्रमाणपत्र दिइएको थियो ।
कार्यक्रममा उत्कृष्ट प्रदेश सभा सदस्य पुरस्कार साँसद शिवचन्द्र चौधरीलाई ५१ हजार नगद तथा सम्मान पत्र सहित प्रदान गरिएको थियो भने उत्कृष्ट कर्मचारीको पुरस्कार रंजीत राय यादवलाई ५१ हजार नगद तथा सम्मान पत्र सहित प्रदान गरिएको छ ।
कार्यक्रममा बिधेयकहरुको संग्रहित पुस्तक बिमोचन गर्नुका साथै कबीर अनाथ बाल आश्रमका बालबालिकालाई लता कपडा पनि बितरण गरिएको थियो ।
कार्यक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री, संघिय साँसद , सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।