जनकपुर- नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन्। उनले ओली सरकारले लोकतन्त्र र संघीयता समाप्त पार्न खोजेको आरोप लगाउँदै जनताको हितमा सरकारले केही पनि गर्न नसकेको आरोप लगाए।
देशव्यापी रुपमा कांग्रेसको विरोध प्रर्दशन कार्यक्रम अन्तर्गत आज धनुषाको जनकपुरमा भएको विशाल विरोध र्यालीपछिको सभालाई सम्बोधन गर्दै नेता नीधिले सरकार लोकतन्त्र विरोधी, किसान विरोधी, मजदुर विरोधी, अधिनायकवादी, सर्वसत्तावादी र लोकतन्त्रको मूल्य मान्यता विरोधी रहेको बताएका थिए।
जनकपुर चुरोट कारखानाको सम्पतिलाई सरकारले टुक्रा–टुक्रा पारेर बिक्री गर्ने रणनीति बनाएरको दाबी गर्दै उनले प्रदेश सरकारले हस्तक्षेप गर्नुपर्ने उनले बताए। प्रदेशले चुरोट कारखानाको सम्पति संरक्षण गर्न नसके नालायक साबित हुने निधिको भनाइ थियो। कम्युनिष्ट सरकारले जनकपुर चुरोट कारखानालाई पनि प्राईभेट-पब्लिक साझेदारीको नाममा बेच्ने र कमिसन खाने योजनामा रहेकोले प्रदेश २ का जनतालाई आन्दोलनका लागि तयार रहन आग्रह गरे।
वर्तमान सरकार अपराधी संरक्षण गर्ने सरकार भएको आरोप लगाउंदै नीधिले हालसम्म निर्मला पन्तको हत्यारालाई कारबाहीको दायरामा ल्याउन नसक्नु यसको उदाहरण रहेको तर्क गरे। देशमा महंगीले आकाश छोई सकेपनि सरकार यसलाई नियन्त्रण गर्न उदासीन रहेको बताए।
नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीको अध्यक्षतामा जनकपुरको रेल्वे स्टेशन परिसरमा आयोजित सभालाई सम्बोधन गर्दै निधीले अहिलेको कम्युनिष्ट सरकारले संसदमा मर्यादापालक लगाएर नियम/कानुन मिचेर जर्बजस्ती विधेयक पास गर्ने जस्तो अपराध गरिरहेकोले जनता कम्युनिष्ट सरकारबाट सचेत हुनुपर्ने बताए।
विरोध सभालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादव , रामकृष्ण यादव , जिल्ला उपसभापति संतोष यादव लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।