काठमाडौँ- प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले भेनेजुएला प्रकरणलाई आवश्यकताभन्दा बढी चर्चा गरेर उचाल्न खोजिएको आरोप लगाएका छन्।
भौगोलिक र विविध सम्बन्धका हिसाबले नेपालसँग खासै सम्बन्ध नभएको विषयमा नेपालको भाग्य र भविष्यको फैसला नै यसैले गर्नेगरी हल्ला गरिनु आवश्यक नभएको भट्टराईले बताए।
सोमबार संवाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै डा भट्टराईले सरकार संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नताको सिद्धान्त, पञ्चशीलका सिद्धान्तमा रहेर बनेको विदेश नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशमा आन्तरिक समस्या आउँदा त्यसको समाधानका लागि निर्णय गर्ने अधिकार त्यही देशका जनताले पाउनुपर्छ भन्ने धारण नै सरकारको आधिकारिक धारणा रहेको बताए।
अन्तरसंवादमा बोल्दै डा भट्टराईले पार्टी र सरकारको आआफ्नै सीमा र मर्यादा हुने भएकाले कतिपय पार्टीको धारणालाई सरकारकै आधिकारिक धारणाकै रुपमा बुझ्न नहुने विचार व्यक्त गरे। उनले नेपालको अमेरिकासँग निकै लामो समयदेखि बहुआयमिक र गहिरो सम्बन्ध भएकाले कुनै विषयमा सामान्य मतान्तर रहे पनि त्यसले सदियौं देखिको सुमधुर सम्बन्धमा चिसोपना नआउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।