काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले भेनेजुएलाको राजनीतिक घटनाक्रमप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेकपाको सोमबार बसेको सचिवालय बैठकले भेनेजुएलामा जारी संकटप्रति पार्टीको दृष्टिकोण प्रष्ट भएको भन्दै त्यसमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरेको छ।
सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘आजको बैठकले भेनजुएलाको राजनीतिक घटनाक्रमप्रति आफ्नो ध्यानाकर्षण गर्दै त्यसबारेमा कुनै भ्रम र गलत प्रचार नगरियोस् भन्ने कुरामा आफ्नो दृष्टिकोण प्रष्ट पारेको छ।’
भेनेजयुलामा जारी राजनीतिक संकटकाबीच नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कडा आपत्तिसतिको विज्ञप्ति निकालेपछि यसले नेपालमा समेत राजनीतिक विवाद र तरंग उत्पन्न गराएको छ।
नेकपाले भने विदेशनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पार्टीको नीति र दृष्टिकोण स्पष्ट र स्थिर रहेको जनाएको छ। ‘हालैका दिनहरुमा भेनेजुएलामा विकसित राजनीतिक घटनाक्रमप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ,’ श्रेष्ठले भने, ‘हाम्रो पार्टीको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा कुनै अन्याेल छैन। यस सम्बन्धमा पार्टीको नीति र दृष्टिकोण स्पस्ट र स्थिर छन्।’
दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको राष्ट्रियसभाका विपक्षी नेता हुवान गुवाइदोले सरकारविरोधी एक प्रदर्शनका क्रममा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए। त्यसको केही घन्टा नबित्दै शक्ति राष्ट्र अमेरिकाले हुवानलाई राष्ट्रपतिको वैधानिकता दिएको थियो।
चुनावमा भारी मत ल्याएर जितेका राष्ट्रपति निकोलस मडुरोलाई अपदस्त गर्ने विपक्षीको प्रदर्शनलाई बैधानिकता दिने अमेरिकी नीति त्यहाँको आन्तरिक मामिलामा हस्तक्षेप भएकोे भन्दै प्रचण्डले अमेरिकाप्रति लक्षित कडा विज्ञप्ति निकालेका थिए।
प्रचण्डको उक्त विज्ञप्तिप्रति नेपालस्थित अमेरिकी दूतावासले चासो जानाउँदै यसबारे आधिकारिक धारणा सार्वजनिक गर्न सरकारलाई दबाब दिएकाे थियाे।
त्यसपछि सरकारले निकालेको विज्ञप्तिमा भेनेजुएलाको समस्या समाधान गर्ने अन्तिम निर्णय त्यहाँकै जनताको हातमा रहेको जनाएकाे थियो। जसलाई कतिपयले ‘प्रचण्डकै लाइन’लाई पार्टीले पनि निरन्तरता दिएको रुपमा अर्थ्याएका थिए।
नेकपाकोे बैठकले सरकारको धारणासँग मेल खानेगरी आफ्नो धारणा सार्वजनिक गरेको छ। बैठकले संयुक्त राष्ट्र संघको बडापत्र र पञ्चशीलका सिद्धान्तहरुप्रति पार्टी प्रतिबद्ध रहेकाे भन्दै हरेक देशको सर्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्नुपर्ने बताएको छ।
‘हामी कुनै देशका आन्तरिक मामिलामा बाह्य हस्तेक्षप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक र शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता राख्दछाैं,’ बैठकपछि नेता श्रेष्ठले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।