काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आन्दोलन छोडेर मुलुक निर्माणको अभियानमा जुट्न आग्रह गरेका छन्।
वरिष्ठ नेता खनालले मुलुकको आर्थिक उन्नतिका लागि रचनात्मक काम गर्न छाेडेर आन्दोलन गरिरहे नेपाली कांग्रेस आफैं कमजोर हुँदै जाने चेतावनी पनि दिए।
सोमबार स्वतन्त्र विद्यार्थी युनियन, रत्नराज्यलक्ष्मी क्याम्पसले काठमाडौंमा आयोजना गरेको रचनात्मक कार्यक्रममा बोल्दै उनले स्ववियू निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न पनि सरकारसँग माग गरे। उनले स्ववियू निर्वाचनपछि धकेल्ने प्रयास नगर्न पनि कांग्रेसलाई सचेत गराए। आफ्नो विद्यार्थी संगठन नेविसंघले हार्ने निश्चित भएपछि कांग्रेसले स्ववियू निर्वाचन फागुन १४ गतेबाट पछि सार्ने प्रस्ताव अघि सारेको वरिष्ठ नेता खनालको दाबी छ।
वरिष्ठ नेता खनालले रचनात्मक ढंगले मुलुकको आर्थिक उन्नतिको काममा केन्द्रित हुन पनि पार्टीका सबै नेता, कार्यकतालाई आग्रह गरे। मुलुकमा राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक उन्नतिको दिशामा केन्द्रित हुने बेला आएको वरिष्ठ नेता खनालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।