काठमाडौं– पहिलो विश्वयुद्धमा प्रयोग भएको जर्मन ग्रिनेड हङकङमा फेला परेको छ। फ्रान्सबाट ल्याइएको आलुको कन्टेनरमा उक्त ग्रिनेड भेट्टाइएको हो।
शनिबार बिहान हङकङको पूर्वी साई कुङ जिल्लामा रहेको क्याल्बी कुरकुरे फ्याक्ट्रीमा भेट्टाइएको सो हाते ग्रिनेड सक्रिय अवस्थामा नरहेको हङकङ प्रहरीले जनाएको छ। ‘ग्रिनेड सक्रिय अवस्थामा छैन। यसलाई पहिले नै निष्क्रिय बनाइसकिएको रहेछ। तर, व्यवस्थापन मात्र गरिएको थिएन। त्यसकारण यसरी भेटिएको हो’, एक अधिकारीले भने।
बम भेटे लगत्तै हङकङ प्रहरीको विशेष बम डिस्पोजल टोली कुुरकुरे फ्याक्ट्री पुगेर बमको व्यवस्थापन गरेको थियो।
माटोको कुनै भाँडोको आकारमा रहेको ग्रिनेडको आकार ३ इन्च (८ सेन्टिमिटर) रहेको छ।
‘हालसम्म प्राप्त सबै सूचनालाई आधार मान्दा बम फ्रान्सबाट ल्याइएको आलुसँगै हङकङ आइपुगेको हो’, प्रहरी सुपेरिटेन्डेन्ट ओङ हो–होनले बताए। उनका अनुसार सो बमलाई उच्च दबाबयुक्त वाटर फाएरिङ पद्धतिबाट डिफ्युज गरिएको थियो।
फ्रान्समा आलु खन्ने बेलामा संयोगवश सो बमलाई पनि कन्टेनरमा राखी हङकङ पठाइएको हो। युद्धका दौरानमा लडाकुले प्रयोग गर्दा खेतबारीमा सो बम छोडिएको हुनसक्ने साउथ चाइना मर्निङ पोस्टका सैन्य इतिहासविद् डेभ मक्रीले बताए।
गएको वर्ष पनि हङकङको एक निर्माण स्थलमा भेटिएको दोस्रो विश्वयुद्धमा प्रयोगमा आएको आंशिक रुपमा नष्ट भएको बमलाई पनि निष्क्रिय बनाइएको थियो। दैनिक हजारौं मानिसको आवातजावत हुने सो इलाकामा भेटिएको बमको तौल ४ सय ५० किलो थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।