काठमाडाैं- पार्टी एकताका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे सचिवालय समितिकाे बैठक बस्दै छ। साेमबार बिहान १० बजेका लागि बाेलाइएकाे बैठकमा मंसिर २८ देखि पुस १३ सम्म बसेको स्थायी समितिले उठाएका एजेण्डाबारे छलफल हुने नेकपाले बताएकाे छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताकाे मापदण्डलगायतका विषय टुंग्याउन बनाइएकाे कार्यदलकाे काम र प्रतिवेदनका बारेमा समेत छलफल हुनेछ। नेकपा स्थायी समितिले बनाएको ९ सदस्यीय कार्यदललाई पार्टी एकताको नयाँ मापदण्ड, केन्द्रीय सदस्यको जिम्मेवारी भागबन्डा, पोलिटब्युरो सङ्ख्यालगायतका विषय टुंग्याउन जिम्मेवारी दिइएको थियो।
कार्यदलको प्रतिवेदन सचिवालयबाट अनुमोदन गराई पुन स्थायी समितिमा छलफल हुने बताइएको छ।
पार्टी एकता घाेषणा भएकाे लामाे बितिसक्दासमेत नेकपाले स्थानीय तथा प्रदेश कमिटिमा एकता गर्न सकेकाे छैन। एकता प्रकृयाका सम्बन्धमा समयमै निर्णय लिन नसकेकाे भन्दै पार्टीभित्रै पनि आलाेचना हुँदै आएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।