रुकुम (पूर्व)- रुकुम पूर्वमा सदरमुकाम कुन स्थान बनाउने सम्बन्धमा विवाद चर्किँदा आइतबार निषेधाज्ञा जारी गर्नु परेकाे छ। जिल्लाकाे सदरमुकाम रुकुमकोट वा गोल्खाडा कहाँ हुने भन्ने विवाद चर्किँदै जाँदा जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ निषेधाज्ञा जारी गरिएकाे रुकुम पूर्वका डिएसपी याेगेन्द्र कुमार खड्काले जानकारी दिए।
गोल्खाडाका स्थानीयले रुकुमकोटमा प्रदर्शनकाे तयारी गरेपछि स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न भन्दै आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेकाे हाे। डिएसपी खड्काका अनुसार अर्काे आदेश नभएसम्मका लागि चार किल्ला ताेकेर नै निषेधाज्ञा जारी भएकाे छ।
सरकारले रुकुम जिल्लालाई विभाजन गर्दा रुकुम पूर्वको अस्थायी सदरमुकाम रुकुमकोट तोकेकाे थियो। तत्कालीन शेरबहादुर देउवा सरकारले एक वर्षअघि पुथाउत्तरगंगा गाउँपालिका-१२, गाेल्खाडालाई सदरमुकाम बनाउने निर्णय गरेपछि विवाद उब्जिएको हो।
२०७४ माघ ११ गते देउवा सरकारले राजधानी सार्ने निर्णय गरेपछि माघ १७ गते सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट दायर भएको थियो। माघ १८ गते मन्त्रिपरिषद्को निर्णय तत्काल लागू नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेकाे थियाे। सर्वाेच्चमा भने १६औं पटककाे पेसी सर्दै आगामी माघ २७ का लागि अर्काे पेसी ताेकिएकाे छ। साे दिनमा फैसला हुनसक्ने भन्दै स्थानीयहरु गत साेमबारदेखि प्रदर्शनमा उत्रिएका थिए।
छुट्टाछुट्टै प्रदर्शनकाे तयारी गरिरहँदा विवाद हुँदा केही स्थानीय नेता तथा कार्यकर्तासमेत घाइते भएका थिए। आइतबार विवादले उग्र रुप लिने देखिएपछि निषेधाज्ञा जारी गर्नुपरेकाे जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जनाएकाे छ।
पूर्वमा सिस्ने गाउँपालिका-५ धौलापहिरा खोला, पश्चिममा सिस्ने गाउँपालिका-५ रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका-६ रुकुमगाड हुँदै धाउनेको पाटीघट्टसम्म, दक्षिणमा सिस्ने-५ रुमालबारा हुँदै सहिदपार्कसम्म निषेधाज्ञा जारी गरिएकाे खड्काले जानकारी दिए। साे क्षेत्रभित्र अर्काे आदेश नहुँदासम्म भेला हुन, कुनै किसिमको विरोध प्रदर्शन, सभा जुलुस गर्न र गराउन निषेध गरिएको छ।
निषेधाज्ञा जारी गरिएकाे १२ घन्टा बितिसक्दा पनि हटाइएकाे छैन। बिहानकाे समयमा किनमेल तथा व्यापार व्यवसाय गर्ने र पठनपाठन गर्ने विद्यार्थीलाई निषेधाज्ञाले प्रभाव पारेकाे छ। यातायात तथा स्थानीय कलकारखानाहरु समेत चल्न सकेका छैनन्।
स्थानीय प्रशासनले दुबै पक्षबीच समन्वय गरी वार्ताकाे प्रयास जारी राखिएकाे बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।