आकापुल्को (मेक्सिको)- मेक्सिकोको गुइर्रेरो राज्यमा बस्दै आएका अमेरिकी नागरिकलाई एक समूहले गोली हानी हत्या गरेको छ।
आकापुल्को शहरमा बस्दै आएका उनले औषधीय गुण भएको गाँजालाई वैधानिकता दिनुपर्ने पक्षमा समर्थन गर्दै आएका बताइएको छ। स्थानीय सञ्चारमाध्यमले मारिने अमेरिकी नागरिकको नाम जोन गाल्टन रहेको बताएका छन्।
अभियोजनकर्ताको कार्यालयले जनाएअनुसार गाल्टनलाई उनकै घरमा मारिएको थियो। उनको घरमा औषधिको प्रयोगशाला र गाँजाका बिरूवाहरू भेटिएका मेक्सिकोका अधिकारीले बताएका छन्।
प्रशान्त महासागरीय क्षेत्रमा अवस्थित उनी बस्दै आएको एक घरमा ६ जना बन्दूकधारी प्रवेश गरेका र एकाएक गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हाे। घटनामा एक जना सख्त घाइते भएका प्रहरीले जनाएको छ। प्रहरीले घटनामा सङ्गठित लागुऔषध अपराधमा लागेको समूहको हात रहेको बताएको छ।
मेक्सिकोमा लागुऔषधसम्बन्धी हिंसामा सन् २००६ को डिसेम्बरपछि कम्तीमा २ लाख मानिसको मृत्यु भएको सरकारी तथ्याङ्क छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।