जनकपुर–महोत्तरीको गौशाला–१२ काे राष्ट्रिय माध्यमिक विद्यालयमा प्रधानाध्यापकलाई पूर्व प्रधानाध्यापकले कुटपिट गरेका छन्। यसैको विरुद्धमा स्कुलका शिक्षकहरूले आइतबार विद्यालय बन्द गरी विरोध जनाएका छन्।
शनिबार विद्यालयका प्रधानाध्यापक देविप्रसाद घिमिरेलाई त्यही विद्यालयका पूर्व–प्रधानाध्यापक राजकिशोर सिंह र देवनारायण महतोले हातपात गरेका थिए।
उक्त घटनाको न्यायोचित ढंगले छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै शिक्षकहरूले आइतबार एकदिनको लागि विद्यालय बन्द गरे।
विद्यालयका शिक्षक महावीर सिंह कुशवाहाको अनुसार विद्यालयमा पुरानो हरहिसाब बरबुझारथको सन्दर्भमा पूर्व–प्रधानाध्यापक राजकिशोर सिंह र देव नारायण महतोको वर्तमान प्रधानाध्यापक देविप्रसाद घिमिरे बीच कुरा नमिल्दा विवाद बढेपछि सिंहले प्रअ घिमिरे माथि हातपात गरेका थिए भने महतोले पनि साथ दिएका थिए।
घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै एक दिनका लागि विद्यालय बन्द गरिएको शिक्षक कुशवाहाले बताए।
यता पूर्व प्रअ सिंह र महतोलाई घटना पश्चात प्रहरीले नियन्त्रणमा लिएको थियो। घटना भए लगतै प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको र साँझ ५ बुँदे सहमति गरी दुवैलाई छाडिएको छ।
शिक्षकहरुबीच आपसी सम्झौता भएपछि उनीहरूलाई बिहान १० बजे विद्यालयमा उपस्थिति हुने गरी छोडिएको प्रहरी निरीक्षक किशोर आचार्यले बताए।
यस सम्बन्धमा नेपाल शिक्षक महासंघ गौशाला नगरपालिकाका संयोजक नकुल उप्रेतीले दिएको जानकारी अनुसार राजकिशोर सिंहले सोमबार विद्यालयमा सबैको सामुन्ने माफी माग्ने, शिक्षक लक्ष्मण कुमार गौतमले संचयकोषको रकम बुझाएको सम्पूर्ण कागजात पेस गर्ने वा रकम नबुझाएको भए फागुन १ गतेसम्म रकम दाखिला गर्ने, १ गतेभित्र सम्पूर्ण खर्च विवरण पेश गर्ने, देवी प्रसाद घिमिरेको व्यक्तिगत बचततर्फ रकम देवनारायण महतोले पैसा तुरुन्त बुझाउने र महासंघका नगर संयोजक नकुल उप्रेती र राम उमेश यादवलाई हरहिसाव बुझिबुझार्थका लागि काजमा खटाउनका लागि नगरपालिकासँग माग गरिने सम्झौता भएको छ।
विद्यालय व्यवस्थापन समितिका सदस्य महेश कुमार सिंहले घटनाको सम्बन्धमा आफूहरुले आजै थाहा पाएकाले विद्यालय व्यवस्थापन समितिको चाँडै बैठक बसेर आवश्यक कदम उठाइने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।