जनकपुर– धनुषामा आइतबार बिहान शवसहित फेला परेको गाडी जटही नाकाबाट नेपाल छिरेको खुलासा भएको छ।
बिहान मिथिला नगरपालिका–३ हरिहरपुर मरधरटोल स्थित पूर्व पश्चिम राजमार्ग भन्दा भन्दा करिब ५० मिटर तल हरिहरपुर जाने बाटो छेउमा करिब ४२ वर्षीय पुरुषको शव गाडीमा फेला परेको हो।
भारतीय नम्बर प्लेट बिआर ०७ पिए ५०८७ नम्बरको स्कारपियो गाडीमा लास देखेपछि खेत गएका स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
जानकारी पाएलगत्तै घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय ढल्केवर तथा प्रदेश प्रहरीको संयुक्त टोलीले घटनास्थलको चारैतर्फ २०० मिटरको घेरा हाली अनुसन्धान सुरु गरेको थियो।
घटनाको सुक्ष्म अनुसन्धानका लागि हेटौंडाबाट डग टोली (प्रशिक्षित कुकुर) सहितको विशेष प्रहरी टोली झिकाइ घटनास्थलको प्रकृति मुचुल्का उठाएर लासलाई पोष्टमार्टमको लागि जनकपुुर अञ्चल अस्पताल पठाइएको छ।
प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दान बहादुर थापाले घटनास्थलमा बरामद भएको बिआर ०७ पिए ५०८७ नम्बरको गाडी माघ १८ गते विहान ८ बजे जटही नाकाबाट गाडी चालक सहित ७ जना नेपाल प्रवेश गरेको बुझिएको बताएका छन्।
जटही नाकाबाट प्रवेश गरेको गाडीको चालक र मृत भेटिएको व्यक्ति त्यही चालक नै हो कि भनेर शंका गरिएको छ।
घटनाबारे गहिरो अनुसन्धान थालिएको प्रहरी प्रवक्ता थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।