काठमाडौं– गत कात्तिक ८ गते महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीको नेतृत्व सम्हाल्दै डिआइजी शैलेश थापा क्षेत्रीले प्रहरीको शीर निहुरिने खालका काम नगर्न निर्देशन दिए।
भदौको अन्तिम साता कोटेश्वर र काँडाघारी प्रभागका ९ जना प्रहरी र बौद्धका डिएसपीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गरेको थियो।
उक्त कुराले प्रहरी संगठनलाई नै लज्जित बनाएको भन्दै डिआइजी थापाले आफू मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै भनेका थिए, ‘घुस लिएको मात्रै होइन, आचरणविपरीत सानोभन्दा सानो काम गरेको जानकारी हुनासाथ कारबाहीमा पर्नुहुन्छ। कारबाहीमा परेर लज्जित नहुनुहोस्, राम्रो काम गरेर संगठन र आफ्नो शीर उँचो पार्नुहोस्।’
घुसमा डिएसपीसम्मका प्रहरी कर्मचारी पक्राउ परेर संगठन नै लज्जित हुनु परेको भन्दै उपत्यकामा कार्यरत प्रहरी कर्मचारीको गतिविधिमाथि मेट्रोले सूक्ष्म निगरानी सुरु गरेको थियो।
मेट्रोमा प्रहरीकै निगरानी गर्नका लागि ५ वटा टोली बनाइएको छ। उक्त टोलीले हरेक दिन काठमाडौं उपत्यकाका विभिन्न कार्यालयको छड्के अनुगमन गर्दै आएको छ ।
अनुगमनकै क्रममा डिआइजी थापाले नेतृत्व सम्हालेदेखि (गत कात्तिक ८ गते) हालसम्म अर्थात् साढे चार महिनाको अवधिसम्म प्रहरी ऐन, नियमावली तथा मर्यादाविपरीत गतिविधि गर्ने उपत्यकाका १ सय १५ जना प्रहरी कारबाहीमा परिसकेका छन्।
उनीहरुको गतिविधिअनुसार आयुक्त कार्यालयले विभागीय कारबाही गर्दै आएको छ।
कारबाहीमा जवानदेखि सईसम्म
मेट्रोले मर्यादाविपरीत गतिविधि गर्न कुनै प्रहरीलाई छुट नभएको भन्दै कारबाहीलाई तिव्रता दिएको छ। सोही क्रममा उपत्यकाका १ सय १५ जना प्रहरी कर्मचारी कारबाहीमा परिसकेका छन्। कारबाहीमा प्रहरी जवानदेखि सईसम्म छन्।
सबैभन्दा बढी कारबाहीमा प्रहरी जवान परेका छन्। यो साढे चार महिनाको अवधिमा ८० जना प्रहरी जवान कारबाहीमा परे भने २४ जना हवल्दार, ६ जना असई र ५ जना सई कारबाहीमा परेका छन्।
५२ जनालाई नसिहतको कारबाही दिइएको छ। जसमा प्रहरी जवान ३५, हवल्दार १३, असई १ र सई २ जना छन्। २५ जना प्रहरी कर्मचारी भने निलम्बनमा परेका छन्। जसमा जवान १७ जना, हवल्दार ४ जना, असई ३ जना छन् भने सई १ जना छन्।
त्यस्तै ४ जनाको बढुवा रोक्का गरिएको डिआइजी क्षेत्रीले जानकारी दिए। जसमा जवान ३ जना र हवल्दार १ जना परेका छन्। तलब वृद्धि घटुवामा १२ जना कर्मचारीको नाम छ। जसमा १ जना सई र ११ जना जवान छन्।
१ सई, २ हवल्दार र २ जना जवानको तलब वृद्धि रोक्का गरिएको छ भने १ जना हवल्दारलाई बर्खास्त समेत गरिएको आयुक्त कार्यालयको रेकर्ड छ।
त्यस्तै १ असईसहित ८ जना जवानलाई सेवाबाट हटाइएको छ। सुरु स्केलमा घटुवाको कारबाहीमा भने १ सई, ३ हवल्दार र ४ जवानसहित ८ जना परेका छन्।
यसरी विभिन्न शीर्षकमा आयुक्त कार्यालयले १ सय १५ जना प्रहरी कर्मचारीलाई यो साढे ४ महिनाको अवधिमा कारबाही गरेको हो।
आयुक्त कार्यालयले आचरणविपरीत काम गर्ने प्रहरीलाई एक हप्ता प्रशिक्षण दिने र सुध्रिने मौका समेत दिने गरेको छ।
७६ जना पुरस्कृत
आयुक्त कार्यालयले नराम्रोलाई दन्ड र र राम्रोलाई पुरस्कृत गर्ने रणीनीति लिएपछि राम्रो काम गर्ने प्रहरी कर्मचारी पुरस्कृत पनि हुन थालेका छन्।
कात्तिक ८ गतेदेखि अहिलेसम्म उपत्यकाका ७६ जना प्रहरी पुरस्कृत भइसकेका छन्। जसमा १ डिएसपी, ४ इन्सपेक्टर, ७ सई, १४ असई, १७ हवल्दार, ३३ जवान पुरस्कृत भइसकेका छन्।
त्यस्तै प्रहरीलाई घुस दिनेहरु पनि धमाधम पक्राउ पर्न थालेका छन्। घुस दिएर प्रहरीलाई प्रलोभनमा पारी काम लिन खोज्नेलाई पक्राउ गर्ने प्रहरीलाई पनि आयुक्त कार्यालयले पुरस्कृत गर्न थालेको छ।
प्रहरीलाई घुस दिन खोज्नेलाई पक्राउ गर्ने २६ जना प्रहरीलाई पुरस्कृत गरिएको आयुक्त कार्यालयको तथ्याङ्क छ। जसमा १ सई, ९ असई ६ जवान गरी २६ जना पुरस्कृत भएको आयुक्त कार्यालयका प्रवक्ता एसएसपी पूजा सिंहले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।