इटहरी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेस गुट उपगुटले भन्दा गिरोहले चलाउने गरेको बताएका छन्।
नेपाल महिला संघ सुनसरीले आयोजना गरेको नोना कोइरालाको १२औं स्मृति सभालाई सम्बोधन गर्दै उनले यो नेतृत्व विस्थापित गर्न समयमै अधिवेशन हुनुपर्ने माग गरेका छन्। सभापति आफैं गुटबन्दीमा लागेकोले यो नेतृत्व परास्त नभइन्जेल पार्टी बलियो नहुने उनको भनाइ छ।
शेरबहादुर देउवाले पार्टीको नेतृत्व गरिन्जेल पार्टी कमजोर बन्ने कोइरालाले बताए। 'म यही मञ्चमार्फत सभापतिलाई समयमै अधिवेशन गराउन अनुरोध गर्छु,' उनले भने, 'अब आग्रह मात्र हैन हुङ्कार नै गर्छु। शेरबहादुर नेतृत्वले कांग्रेसलाई सबल बनाउँदैन। त्यसको लागि अधिवेशन गर्नुपर्यो।'
कांग्रेस इतिहासमै सबैभन्दा कमजोर बनेको भन्दै त्यसको सबैभन्दा उत्तम विकल्प नेतृत्व परिवर्तन रहेको उनको भनाइ छ।
महिलाले नेतृत्व गर्न पछि परिरहेकोले अब हस्तक्षेपकारी भूमिका निर्वाह गर्न महिला नेत्रीहरुलाई आग्रह गरे।
'हिजो कांग्रेस नेतृत्वले उम्मेदवारको टिकट वितरणमा न्याय गर्न नसक्दा कांग्रेसको यो हालत भएको हो,' उनले भने, 'टिकट राम्रो मान्छेले पाएको स्थानमा पनि अन्तर्घातले नराम्ररी गाँज्यो।'
पार्टीको केन्द्रीय कार्यसमितिको कार्यकाल सकिनै लागेको भन्दै उनले यो नेतृत्वको दिन गन्ती सुरु भएको बताए। बहुमत छ भनेर कार्यकाल लम्ब्याएर टिक्ने दुस्साहस नगर्न उनले चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।