काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई नियुक्त गरेकी छन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) अनुसार मन्त्रिपरिषद्को निर्णयमा राष्ट्रपति भण्डारीले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन्।
एक समारोहबीच राष्ट्रपति निवास शितल निवासमा आयोजित एक विशेष कार्यक्रमबीच राष्ट्रपति भण्डारीले आचार्यलाई राजदूत नियुक्त गरेकी हुन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सेना प्रमुख पूर्णचन्द्र थापा लगायतको उपस्थितिमा आचार्यलाई राजदूत नियुक्त गरिएको हो। राष्ट्रपतिबाट राजदूत नियुक्त हुने आचार्य पहिलो व्यक्ति हुन्।
यसअघि श्रीलंकाका लागि राजदूत भइसकेका आचार्य पहिलो संविधानसभाको संविधान मस्यौदा समितिको अध्यक्ष पनि रहिसकेका छन्। नेपाली कांग्रेसतर्फबाट समानुपातीकमा सभासद नियुक्त हुँदै आचार्य मस्यौदा समितिको अध्यक्ष भएका थिए।
यस्तै दुई वर्षअघि गठित नेपाल–भारतबीचको १९५० को शान्ति तथा मैत्री सन्धि तथा अन्य असमान सन्धि सम्झौता पुनर्विचार गर्न गठित नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहमा (इपिजी) आचार्य नेपालतर्फबाट सदस्य रहेका थिए।
सरकारबाट गत कात्तिकमा राजदूत नियुक्त भएपछि नेपाल लाइभसँग कुरा गर्दै आचार्यले आफू राजदूतको रुपमा भारत प्रस्थान गर्नुपूर्व नै इपिजीको प्रतिवेदन सार्वजनिक हुने दाबी गरेका थिए।
इपिजीको प्रतिवेदन हालसम्म पनि सार्वजनिक भएको छैन। नेपाल भारतका प्रतिनिधिले गत साउन १७ गते नै इपिजीले साझा प्रतिवेदन तयार पारे पनि उक्त प्रतिवेदन हालसम्म सार्वजनिक हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।