काठमाडौं– नेपाली कांग्रेस निकट विद्यार्थी संघले शनिबार पोखरामा सरकारी गाडीमा गरेको आगजनी प्रति कांग्रेस भित्रैबाट र संसदमा आपत्ति जनाइएको छ।
कास्कीबाट निर्वाचित भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले जिल्ला शिक्षा अधिकारीको गाडीमा गरेको आगजानीप्रति आपत्ति जनाए।
उनले भने ‘बा १ झ ५८७९ गाडीको आगजानी गरेको सरकारलाई देखाइदिने पार्टीका कार्यकर्ताले जलाएका छन्। आगजनी गरेर तागत देखाएको छ।’
उनले सरकार र प्रतिपक्ष दललाई प्रश्न गरे, ‘क्षतिप्रति प्रतिपक्षले केही भन्छ कि भन्दैन? सरकारले आगजानी गर्ने कामलाई रोक्छ कि रोक्दैन?’ अर्का सांसद घनश्याम खतिवडाले मूलुकमा आगजानी र हिंसा देखिनु लज्जास्पद भएको बताए।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले संघका कार्यकर्ता गरेको उक्त काम निन्दनीय भएको बताएका छन्।
थापाले ट्विट गर्दै ‘नेविसंघको नाममा केही ‘विद्यार्थीले’सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो’ भनी प्रश्न थुप्रै साथीहरूको उठाएको उल्लेख गरेका छन्।
उनले गाडी जलाउने जस्ता कार्यको डटेर निरुत्साहित गर्ने बताएका छन्।‘किन्तु,परन्तु केही नलगाई मेरो उत्तर– त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ। यस्तो कामलाई निरुत्साहित गर्न म डटेर लाग्नेछु,’ थापाले ट्विटमा लेखेका छन्।
संघका कार्यकर्ताले गरेको आगजनीप्रति सामाजिक सञ्जालमा पनि व्यापक विरोध भएको छ। शनिबार सरकारी गाडी चल्न नदिने आन्दोलन अन्तर्गत नेविसंघले पोखरामा सरकारी गाडी जलाएका थिए।
सरकारी गाडी जलाएर तितरबितर भएका संघका पाँच कार्यकर्तालाई सुरक्षाकर्मीले पक्राउ गरेका थिए। पक्राउ पर्नेमा संघका स्थानीय कार्यकर्ता डिफान भुजेल, पर्शुराम बस्नेत, विनय पौडेल, लक्ष्मी पौडेल र राजेन्द्र बराल रहेका छन्।
प्रहरी हिरासतमा रहेका उनीहरूलार्ई मुद्धा चलाउने तयारी भइरहेको बताइएको छ। सरकारी गाडी चल्न नदिने आन्दोलन अन्तर्गत नेविसंघले शनिबार देशका विभिन्न स्थानमा सरकारी गाडीको चाबी नियन्त्रणमा लिएका थिए।
संघको घोषित कार्यक्रममा संस्थापन पक्षका विद्यार्थीहरू भने सहभागी भएका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।