काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकाे संसदीय दलकाे बैठक आज बस्दै छ। सिंहदरबारमा दिउँसाे १ बजेका लागि बाेलाइएकाे बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल गर्न छलफल हुने छ।
कांग्रेसले राखेकाे मुख्य माग सम्बाेधन भइसकेकाे तथा डा गाेविन्द केसीले पनि अनसन ताेडिसकेकाे अवस्थामा कांग्रेस संसदीय दलकाे बैठकले आजकाे संसद बैठक अवरुद्ध नगर्ने निर्णय लिने कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले जानकारी दिए।
कांग्रेसका पूर्व सभापतिद्वय गिरिजाप्रसाद काेइराला र सुशील कोइरालाकाे नाममा रहेका दुबै अस्पताल सरकारले केन्द्र सरकारकाे मातहत राख्ने निर्णय लिइसकेकाे छ। डा केसीले पनि २४औं दिनमा अनसन ताेडिसकेका छन्।
यसअघि कांग्रेसले तनहुँमा रहेकाे गिरिजाप्रसाद काेइराला श्वासप्रश्वास उपचार केन्द्र र बाँकेस्थित सुशील काेइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकारकाे मातहतमा सञ्चालन गरिनुपर्ने तथा १५औं अनसनका क्रममा डा केसीसँग सरकारले गरेका सहमति पालना गर्नुपर्ने मागसहित संघीय संसदका दुबै बैठक अवरुद्ध गर्दै आएकाे थियाे।
आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभाकाे बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने र संसद अवरुद्धकाे कार्यक्रम टुंगिने खाँडले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।