बनेपा- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सांस्कृतिक सम्पत्तिलाई आर्थिक समृद्धिमा बदल्नुपर्ने बताएका छन्।
शनिबार काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा ‘मण्डनदेउपुर ल्होछार सांस्कृतिक महोत्सव २०७५’ ले आयोजना गरेको ‘२८५५औँ फग सोनाम ल्होछार’ कार्यक्रममा बोल्दै उनले सांस्कृतिक शक्तिलाई आर्थिक शक्तिमा बदल्नको निम्ति हामीसँग भएका सम्पूर्ण स्रोत र शक्ति बदल्न सक्नुपर्ने बताए। उनले त्यसका लागि जल, जङ्गल, जमिन, मानवीय शक्ति र ज्ञानलाई एकीकृत गरेर अघि बढ्नुपर्ने उल्लेख गरे।
'अब नेपालकाे समृद्धिको यात्रामा सबै जाति, भाषा, धर्म र संस्कृति समान भएकाले कसैप्रति विभेद र दमन छैन', मन्त्री बाँस्कोटाले भने, 'त्यसका लागि सबै समृद्ध राष्ट्र निर्माणको महाअभियानमा लाग्न जरुरी छ।'
उनले संस्कृति पनि पर्यटन पूर्वाधार क्षेत्रको महत्वपूर्ण पाटो भएको बताउँदै त्यसका लागि सरकारको तर्फबाट गर्न सकिने सहयोग गर्ने प्रतिबद्धता जनाए।
बाँस्काेटाले तामाङ समुदायको पहिचानको रुपमा स्थापित बौद्धनाथकाे देशको अन्तर्राष्ट्रिय पहिचान हुने टिकट प्रकाशन गर्ने निर्णय बिहीबार भएकाले छिट्टै प्रकाशन हुने समेत जानकारी गराए।
उनले देश र प्रकृतिको बहुलता समावेशिता भएकाले यो आज राज्यको प्रत्येक निकायमा रहेको उल्लेख गर्दै सरकारले बिदा काटेको नभई स्थानीय सरकारले तीन दिन बिदा दिएको दाबी गरे। स्थानीय सरकारले आफ्नो भौगोलिक र समुदायको बसोबासको हिसाबले बिदा दिएको उनको भनाइ छ।
नगरपालिकाका सबै समुदायको उपस्थितिमा भएको कार्यक्रममा राष्ट्रियस्तरका कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।