वासिङ्टन- वासिङ्टनमा भएको चीन र अमेरिकाबीचको व्यापार वार्तामा महत्वपूर्ण प्रगति भएको वार्तामा सहभागी दुवै समूहले शनिबार जनाएका छन्।
वार्ताका लागि वासिङ्टनमा रहेको चिनियाँ र अमेरिकी उच्च प्रतिनिधिमण्डलका सदस्यबीच चीन–अमेरिकाबीच देखिँदै आएको आर्थिक एवम् व्यापार विवादलाई समाधानका लागि बुधबार र बिहीबार छलफल भएको छ।
चिनियाँ उप–प्रधानमन्त्री लिउ हेको नेतृत्वमा अमेरिका पुगेको वार्ता टोलीले समानान्तर अमेरिकी समूहसँग छलफल गरेपछि वातावरण सकारात्मक एवम् महत्वपूर्ण बनेको भन्दै अर्को चरणको लागि तालिका, कार्यदिशा र परामर्शका लागि दुबै समूहले सहमति जनाएका छन्।
वार्ता सकारात्मक देखिएपछि बिहीबार नै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ टोली नेता तथा उप–प्रधानमन्त्री लिउसँग ह्वाइट हाउसमा भेटवार्ता गरेका छन्।
कठिन प्रयासपछि भएको प्रगति दुवै पक्षका राष्ट्रप्रमुखले अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा गत डिसेम्बरमा व्यापार विवादलाई समाधान गर्न गरेको सहमतिलाई गम्भीर कार्यान्वयनमा लाने संकेत मानिएकाे छ।
अजेन्टिनामा दुई देशका नेताले दुबै पक्षले आगामी ९० दिनभित्र आपसी हितका लागि सम्भौता गरी व्यापार विवादलाई टुङ्ग्याउने सहमति भएअनुरूप नै वार्ता अघि बढेको हो।
महत्वपूर्ण प्रगति
दुइ दिने लामो वार्तामा अमेरिका र चीनका प्रतिनिधिले व्यापार सन्तुलन, प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्तिको अधिकारको सुरक्षा, गैर–करमुलक अवरोध, सेवा क्षेत्र, कृषि र कार्य सम्पादन व्यवस्था साथसाथै चिनियाँ पक्षका विशेष चासोका केही विषयमा पनि छलफल गरिएको छ। अहिलेसम्मको अवस्थामा वार्ताले महत्वपूर्ण प्रगति हासिल गरेको चिनियाँ प्रतिनिधिमण्डलले जनाएको छ।
दुबै समूह द्विपक्षीय व्यापारमा थप सन्तुलित बनाउने उपायलाई अघि बढाउन सहमत भएका छन्।
चिनियाँ पक्षले अमेरिकाबाट आयात गर्ने कृषि, उर्जा, निर्माण तथा अन्य सेवामुलक सामानमा विस्तार गर्ने र यसले चिनियाँ जनताको उच्च तथा गुणस्तरीय आर्थिक विकासको मागलाई सम्बोधन गर्ने चीनको विश्वास छ।
दुई पक्षबीच चिनियाँ तथा अमेरिकी विशेष चासोबारे छलफल भएको र यसले तिनलाई गम्भीररूपमा सम्बोधन गर्ने बताइएको छ।
वार्ताका क्रममा दुवै पक्षले प्रभावकारी दुईपक्षीय संयन्त्र निर्माण गरेर परामर्शबाट भएका सहमति र निस्केका उपायलाई अनुगमन गर्न आवश्यक रहेकोमा जोड दिएको छ। दुई शक्तिशाली अर्थतन्त्रका वार्ता टोलीबीच आगामी दिनमा निर्माण गरिने अनुगमन संयन्त्रको संरचना र आधारभूत कुराहरूमा सैद्धान्तिक सहमति बनेको छ। टोलीले समस्यालाई कम गर्न थप प्रयासलाई जारी राख्ने र अघि बढ्ने विषयमा सहमति जनाएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटमा राष्ट्रपति सी जिनपिङको सन्देश सुनाउँदै चीन–अमेरिकाबीचको सम्बन्ध जटिल मोडमा रहेको बताएको पनि चिनियाँ टोली नेताले सञ्चारकर्मीलाई जानकारी गराए।
सन्देशमा सीले चीन सहकार्य, समन्वय र स्थायित्वका लागि अर्जेन्टिना सहमतिमा अडिक रहने जनाएका छन्। 'हामीले गरेका सहमतिअनुसार दुबै पक्षका आर्थिक समूहले गहन छलफललाई अघि बढाएका छन् र यसबाट सकारात्मक प्रगति भइरहेको छ', सीको सन्देशमा भनिएको छ।
त्यसैगरी भेटमा ट्रम्पले पनि व्यापार विवादबारे आफूले महत्वपूर्ण प्रगति भएको देखेको बताएका उप–प्रधानमन्त्री तथा वार्ता टोलीका नेता लिउले उल्लेख गरे। उनले अमेरिका–चीन सम्बन्ध सधैँ मजबुत रहने र दुई राष्ट्रप्रमुखको अगुवाइमा अघि बढ्ने बताएका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।