जनकपुर- एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिज लिमिटेड रामनगर महोत्तरीका मजदुरहरूले पाउँदै आएको सेवा सुविधासहित विशेष भत्ताको माग गर्दै आमरण अनसन जारी राखेका छन्।
महोत्तरी गौशाला नगरपालिका-१ स्थित अवस्थित नेपालकै सबैभन्दा ठूलो एभरेष्ट चिनीमिलले दिँदै आएको सेवा एवम् सुविधामा कटौती गरेपछि मजदुरहरू रिले अनसनपश्चात् आमरण अनसन बसेका हुन्।
वर्षौदेखि पाउँदै आएको सेवा सुविधा उद्योग व्यवस्थापन पक्षले कटौती गरेको भन्दै १० जना मजदुरहरूले सामूहिक रुपमा उद्योग प्रशासनको मूलगेटअगाडि अनिश्चितकालीन आमरन अनसन बसेका हुन्।
बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी अखिल नेपाल औद्योगिक मजदुर युनियनका उपाध्यक्ष निरवहादुर अधिकारीको नेतृत्वमा फेकन साह, दशरथ महतो, जीवनहरि उपाध्याय, ओपिन्द्र पासवान, रामसेवक महतो, केदार सुस्लिङ्ग, लिलाधर महतो, रामहरि दुलालले अनिश्चितकालीन आमरन अनसनमा बसेका छन्।
गत श्रावण महिनादेखि नेपाल सरकारले वृद्धि गरिएको प्रतिमजदुर ३ हजार ७ सय ५० रुपैयाँ उद्योग प्रशासनले नदिएको विभिन्न चरणका शान्तिपूर्ण आन्दोलन गरेका मजदुरहरूले प्रशासनको मूलगेटअगाडि आमरण अनशनमा बसेको मजदुर दशरथ महतोले जानकारी दिए।
अहिले उखुको क्रसिंग सिजन भएकोले उद्योगको कामकाज प्रभावित नहुनेगरी शान्तिपूर्ण रुपमा उद्योगको प्रशासनअगाडि अनसन सुरु गरेको मजदुर नेता परशुराम खनालले बताए।
वर्षौंदेखि खाइपाइ आएको तलब भता कुनै पनि हालतमा कटौती गरिनु नहुने तर्फ सचेत गराउँदै विभिन्न समयमा उद्योग प्रशासनसँग भएको वार्तामा भएका सम्झौताहरुलाई समेत कार्यान्वनका लागिसमेत आन्दोलन सुरु गरिएको मजदुर नेता मुरारी दुलालले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।