डोटी– दिपायल सिलगढी नगरपालिका–८ लडागडाको टिमुरदह गाउँ नजिकै ब्रमण्डी सामुदायिक वनमा मरेको अवस्थामा चितुवा फेला परेको छ।
उक्त चितुवालाई मुचुल्का तयार गरी सिलगढी ल्याउनका लागि डिभिजन वन अधिकृत रामविचारी ठाकुर, रेञ्जर सुरेश रोकाया, सिलगढी सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भोजराज शर्मा र लडागडा प्रहरी चौकीको टोली उक्त स्थान पुगेको छ।
चितुवा अन्दाजी तीन वर्षको रहेको र शरीरमा घाउ देखिएकाले गोली लागेर मरेको हुनसक्ने वा बँदेलको आक्रमणबाट मरेको हुनसक्ने सो टोलीको प्रारम्भिक अनुमान छ।
जिल्ला सदरमुकाम ल्याई परीक्षण गरेर मात्रै चितुवा मरेको कारण यकिन गर्न सकिने सिलगढी सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत शर्माले बताए।
ब्रमण्डी सामुदायिक वन क्षेत्रको खोल्सामा चितुवा मृत अवस्थामा भेटिएपछि सो सामुदायिक वनका अध्यक्ष झङ्कर साउदले डिभिजन वन कार्यालय र सिलगढी सव–डिभिजन वन कार्यालयलाई जानकारी गराए।
उक्त चितुवाको परीक्षण पश्चात आवश्यक प्रक्रियाबाट डिभिजन वन कार्यालयको परिसरभित्रै नष्ट गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।