राजविराज– मुलुकको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान दिइरहेको समुदायलाई सरकारले उपेक्षा गरेको मारवाडी समुदायका युवाहरूले गुनासो गरेका छन्।
सप्तरी सदरमुकाम राजविराजमा शनिबार आयोजित ‘क्षेत्र ख को सम्मेलन’ मा बोल्ने अधिकांश युवाहरूले मुलुकमा रहेका करिब सवा लाख मारवाडीको पक्षमा सरकार मौन बसेको आरोप लगाए।
‘नेपालमा बोलिने अधिकांश भाषालाई राष्ट्र भाषाको मान्यता दिइएको छ,’ नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका अध्यक्ष वजरंग अग्रवालले भने, ‘तर, मारवाडी भाषालाई सरकारले राष्ट्र भाषाको मान्यता दिलाउन सकेन।’
मुलुकको आर्थिक र समाजिक विकासमा सदैव तत्पर रहने मारवाडी समुदाय अधिकार र अवसरमा सधैँ पछि परेको उनले बताए। व्यापार, व्यवसाय र पेसाको सुरक्षा मारवाडी समुदायको प्रमुख चुनौती बनेको अग्रवालको भनाइ छ।
‘व्यापार/व्यसाय धारासायी हुँदैछ, सरकारले त्यसतर्फ ध्यान दिएको छैन,’ उनले भने, ‘व्यापारलाई सरलीकरण गर्ने, बैंकको ब्याजदर घटाउने लगायतका विषयमा सरकार गम्भीर हुनु जरुरी छ।’
मारवाडी समुदायको संस्कृति र पहिचान हराउँदै गएकोमा पनि उनले चिन्ता व्यक्त गरे। ‘हामीसँग आफनो भाषा, संस्कृति र पहिचानको जगेर्ना र भावि पुस्तालाई हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी छ,’ उनले थपे, ‘यस्तै अवस्था रहे हाम्रो पहिचान समेत मेटिन सक्छ।’
कार्यक्रममा क्षेत्र 'ख' अन्तर्गत प्रदेश २ को राजविराज, लहान, कलैया, जनकपुर र विरगञ्जका मारवाडी युवाहरु भेला भएका थिए।
उनीहरूले राजविराज नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि शम्भुप्रसाद यादवलाई विकास निर्माण र समाज परिवर्तनका काममा मारवाडी युवाको सहयोग लिन आग्रह समेत गरे।
मुलुकभर करिब ५ हजार मारवाडी युवा संगठनमा आवद्ध रहेको र समाजको विकासका लागि सक्रिय भएर लागेको मारवाडी युवा मञ्च राजविराजका अध्यक्ष आसिस जोशीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।