राजविराज– कीर्ते, ढिलासुस्ती र घुस प्रकरणका कारण चर्चामा आइरहने भुमिसुधार तथा मालपोत कार्यालय राजविराजको सम्पूर्ण कारोबार अनलाइनमार्फत व्यवस्थित गरिने भएको छ।
भूमि ब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दवाडी तथा राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले शुक्रवार संयुक्त रुपमा अनलाइन प्रणालीको उद्घाटन गरे। अनलाइन सेवालाई ब्यवस्थित गर्न कार्यालयमा १३ थान कम्प्युटरको ब्यवस्था गरिएको छ भने ६ जना कर्मचारीको थपिएका छन्। राजविराज नगरपालिका ९ का पुलकित चौधरी थारुले अनलाइनबाट पहिलो सेवा लिएका छन्।
जग्गा प्रशासनलाई वैज्ञानिक, आधुनिक र ब्यवस्थित बनाउन अनलाइन सेवाले मद्दत गर्ने महानिर्देशक दवाडीले बताए। ‘जग्गाको कारोबार गर्ने हाम्रो परम्परागत र झन्झटिलो प्रक्रिया छ। ढड्डा र लिखतहरु पुराना छन्,’ उनले भने, ‘जग्गाको कारोबार र राजस्व यकिन गर्न पनि अनलाइन सेवा प्रभावकारी छ।’
अनलाइन सेवा सुरु भएपछि सेवाग्राहीलाई नियतवश दुःख दिने, समय लम्ब्याउने, कीर्ते गर्ने लगायतका कर्मचारीका कमजोरीको पनि अनुगमन गर्न सकिने उनले जानकारी दिए। ‘अनलाइन प्रणालीमा आइसकेपछि औँठाछाप लगाउनेबित्तिकै जग्गा धनी हो या होइन भन्ने सुरुमै पत्ता लाग्छ,’ उनले भने, ‘कारोबार सुरु भएपछि सिस्टमले नै वास्तविक जग्गा धनिको मोवाईलमा जानकारी सहितको एसएमएस पठाउँछ। त्यसैले कीर्ते गर्ने कुरा सम्भव छैन।’
मुलुकका १ सय ६० मध्ये सप्तरीबाहेक अन्य ५० वटा कार्यालयमा यो सुविधा सञ्चालनमा छ। जग्गा प्रशासनलाई छिटो छरितो र प्रभावकारी बनाउन सुरु गरिएको अनलाइन प्रणालीलाई चालु आर्थिक वर्षभित्र १ सय ८ वटामा पुर्याउने लक्ष्य राखिएको दवाडीले बताए।
के हुन्छ अनलाइनमा?
अनलाइन प्रणालीमा गए पनि जग्गा पास गर्न फाराम भर्ने र निवेदन लेख्न काम भने कायम रहनेछ। लिखत तयार गरिसकेपछि त्यसैको आधारमा अनलाइन प्रणालीमा तथ्यांक प्रविष्ट गरिन्छ।

त्यसपछि जग्गा किन्ने र बेच्ने मानिस सहित दुई जना साक्षीको फोटो खिच्ने र नागरिक्ताको रेकर्ड राख्ने तथा विद्युतीय औँठाछाप लगाई सुरक्षित गरिन्छ। ‘सरकारले परिचयपत्रको ब्यवस्था गरिसकेपछि परिचयपत्रको नम्वर हाल्नेबित्तिकै सबै रेकर्ड आफै आउँछ,’ भूमि ब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दवाडी भने, ‘त्यसपछि विस्तारै यो झन्झट पनि सकिन्छ।’
अनलाइन प्रणालीमा काम गर्दा जग्गामा मोही रहे/नरहेको, हदबन्दी रहे/नरहेको तथा जग्गाको परिमाण लगायतका कुरा पनि सहजै पत्ता लाग्ने भुमिसुधार तथा मालपोत कार्यालय राजविराजका प्रमुख सिकिन्द्र प्रसाद साहले बताए।
स्क्यानिङ गरी लिखत र ढड्डा ब्यवस्थित गरिने
मालपोत कार्यालयका पुराना डाटा र ढड्डालाई ब्यवस्थित गर्न मन्त्रालयले चाँडै नयाँ प्रणाली सुरु गर्न लागेको दवाडीले बताए। पुराना कागजपत्रलाई स्क्यान गरी कम्प्युटरमा सुरक्षित राख्ने गरी विभागले तयारी गरिरहेको उनको भनाइ छ।
यसैगरी, कार्यालयमा हुने ढिलासुस्ती र घुसखोरी नियन्त्रण गर्न सिसी क्यामेरा जडान गर्ने प्रक्रियालाई पनि विभागले अगाडि सारेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।