काभ्रेपलाञ्चोक- भूकम्पपीडित लाभग्राहीमा सूचीकृत ३२ जनाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ धुलिखेलमा आवास अनुदान रकम फिर्ता गरेका छन्।
धुलिखेलमा जिल्लास्थित बैंकका प्रनिधिसँगको अन्तरक्रिया कार्यक्रममा एकाइका आर्थिक विशेषज्ञ जयकृष्ण झाले बिहीबारसम्म सरकारले उपलब्ध गराएको पहिलो किस्ताबापतको रु ५० हजार लिएर हालसम्म घर निर्माण नगर्ने ३२ जनाले लाभग्राहीले आवास अनुदान रकम बैंकमार्फत फिर्ता गरेको जानकारी दिए।
उनका अनुसार रोशी गाउँपालिकाका दुई, पनौती नगरपालिकाका पाँच, भुम्लु गाउँपालिकाका तीन, नमोबुद्ध नपाका सात, चौँरीदेउराली गाउँपालिकाका छ, बनेपा नपाका दुई, धुलिखेल नपाका एक, बेथानचोक गाउँपालिकाका दुई, तेमाल गाउँपालिकाका तीन र पाँचखाल नपाका एक जनाले अनुदान रकम फिर्ता गरेका हुन्।
एकाइले भूकम्पपीडित लाभग्राहीमा सूचीकृत भएपछि बैंकमा पठाइएको पहिलो किस्ताको रकम लिन नजानेको पनि पहिचान गरिरहेको जनाएको छ।
नेपाल इन्भेस्टमेन्ट बैंक बनेपाका शाखाप्रमुख लोकदीप भोछिभोयाले पहिलो किस्ता लिन नआएकाको आफ्नो बैंकमा रहेको रकम सरकारले चाहेको बेला फिर्ता गर्नसक्ने बताए। एकाइका अनुसार काभ्रेपलाञ्चोकका ८२ हजार ८३३ लाभग्राहीमध्ये हालसम्म आवास निर्माण सम्पन्न गरी २६ हजार ९५० लाभग्राहीले तेस्रो किस्ता रकम लिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।