हेटाैंडा- नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का जिल्ला अध्यक्षको भेला शुक्रबार हेटौंडामा सम्पन्न भएको छ। भेलाले महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गर्नेगरी विधान संशोधन गर्न पहल गर्ने निर्णय गरेको छ।
प्रदेशका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको भेलाले फागुन ९ र १० गते पोखरामा हुने महासंघको साधारण सभाबाट प्रत्यक्ष निर्वाचन प्रणालीलाई विधानमा समावेस गराउन पहल गर्ने निर्णय गरेको हो।
त्यस्तै भेलाले प्रदेश अन्तर्गतका जिल्ला शाखामा आबद्ध सदस्यहरुको एक महिनाभित्र सदस्यता नवीकरण गर्ने निर्णय पनि गरेको छ। भेलाले सञ्चार माध्यमलाई सेवा उद्योगको मान्यता दिई रेडियोको रोयल्टी छुट दिई समानुपातिक विज्ञापन लागू गराउन तथा स्थानीय र प्रदेशस्तरका विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराउन माग गर्ने निर्णय गरेको प्रदेशका महासचिव कृष्ण सारु मगरले बताए।
उनका अनुसार स्थानीय स्तरबाटै सञ्चालित सञ्चार माध्यमहरुको दर्ता, नवीकरण, नियम, वर्गीकरण र लोक कल्याणकारी विज्ञापनको भुक्तानी हुने व्यवस्था मिलाउन सरकारसँग माग गर्ने पनि निर्णय गरिएको छ।
प्रदेश र स्थानीय तहमा कानुन र सञ्चारसम्बन्धी संरचना निर्माण गर्दा पत्रकार महासंघ प्रदेश र जिल्ला शाखाहरुसँग छलफल गरी सहमतिमा निर्माण गर्न आग्रहसमेत गरेको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, केन्द्रीय सदस्यहरु, प्रदेश कार्यसमिति, जिल्ला अध्यक्षहरुले मन्तव्य व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।