जनकपुर- धनुषा र महोत्तरीको सीमानामा पर्ने रातु खोलामा ढुंगा, गिटी, बालुवालगायतकाे उत्खनन् रोक्न बर्दिबासवासी आन्दोलनमा उत्रिएका छन्।
अवैध रुपमा भइरहेको रातु खोला दोहन रोक्न साताअघि बर्दिबास नगरपालिकालाई स्थानीयले जानकारी गराए पनि नगरपालिकाले वेवास्ता गरेको भन्दै आज स्थानीयले विरोध जनाएका हुन्।
बर्दिबास नपा-१३, पशुपतिनगरबासीले रातु खोला मै पुगेर नदीजन्य पदार्थ ओसारपसार र उत्खनन् गरिहेका डोजर, टिपरलगायतका सवारी साधनलाई घेराउ गर्दै उत्खनन्मा रोक लगाएका हुन्।
अवैध उत्खनन् रोक्ने जिम्मेवारी बोकेका बर्दिबास नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, जिल्ला प्रहरीले कुनै वास्ता नगरेपछि स्थानीयले विरोध जनाएको बताए।
बर्दिबास नगरपालिकाले तीन फिट गहिराईसम्म मात्र बालुवा, ढुङ्गा, गिट्टी निकाल्न पाइने गरी खोलाको ठेक्का लगाएको छ। तर, १० फिट गहिरो खाल्टो खनी दुई सातादेखि निर्माण सामाग्री झिक्ने क्रम रोकिएको छैन।
कानुनअनुसार खोलानदीबाट ठूलो यन्त्र लगाएर नदीजन्य पदार्थ उत्खनन् गर्नसमेत प्रतिबन्ध छ। तर, बर्दिबासको रातु खोलामा ठेक्केदारले त्यसको पर्वाह नगरी मनपर्दी रुपमा ठूला यन्त्र प्रयोग गरेर खोला दोहन गरिरहेका छन्।
यस बारेमा सरोकारवाला निकाय भने माैन देखिन्छ। बर्दिबास नगरपालिकाका नगरप्रमुख विदुरकुमार कार्कीले भने, 'खोला दोहनविरुद्ध जनता आन्दोलित भएको राम्रो हो।'
तर, सम्झौता विपरित काम गर्ने ठेकेदारलाई कारबाहीका लागि नगरप्रमुख कार्कीले कदम नचालेको स्थानीयको आराेप छ।
पहिले जिल्ला विकास समितिले रातु खाेलामा उत्खनन्का लागि ठेक्का लगाउँदै आएकाे थियाे। चालू आर्थिक वर्ष २०७५/०७६ बाट खोलाको ठेक्का लगाउने जिम्मा स्थानीय सरकारको मातहतमा आएको छ। वातावरणमा गम्भीर असर पार्ने गरी ठूला यन्त्र प्रयोग गरेर नदी उत्खनन् भइरहँदा पनि जनप्रतिनिधिले ध्यान नदिएको स्थानीय बताउँछन्। चुरेको भावर क्षेत्रमा पर्ने रातु नदीको वैध ठेक्काको कागज देखाएर ठेकेदारले अवैध रुपमा नदीको चरम दोहन गरिरहेका छन्।
दशक अघिदेखि हुँदै आएको नदीको दोहन हालसम्म पनि यथावत छ। ठेकेदारको कमाउ धन्दामा सरोकारवला प्रभावित बन्दा रातु खोलामा जथाभावी नदी दोहन हुने क्रम फेरि दोहोरिएको हो। जथाभावी दोहनले वर्षैपिच्छे खोलाले आफ्नाे बाटाे फेर्दै आएको छ।
खाेलाले बर्दिबास, किसाननगर, पशुपतिनगर, भंगहा, हत्तिसर्वाका हजारौं किसानको सयौं विघा जग्गा कटान गरेर बगर बनाइदिएको छ। खेतीयोग्य जमिन खोलाले बगर बनाइदिएपछी किसान विदेशिन बाध्य भएका पशुपतिनगरका किसान भीम बहादुर आलेले बताए। भने, 'अहिले किसानहरु विदेशको कमाइले अन्न किनेर खान बाध्य छन्', आलेले भने।
ठेकेदारसँग प्रहरी-प्रशासन र स्थानीय तहको मिलोमतोमा अनाधिकृत उत्खनन् हुने कामले निरन्तरता पाइरहेको स्थानीय बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।