काठमाडौं- महाधिवेशन नहुन्जेल दुवै अध्यक्षको समान हैसियत हुनेगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक ) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच पार्टी एकीकरण हुने भएको छ।
पूर्व पञ्चहरुको एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) रहनेछ। राप्रपा (प्रजातान्त्रिक) पशुपति शमशेर जबराले र एकीकृत राप्रपा (राष्ट्रवादी) डा प्रकाशचन्द्र लोहनीले नेतृत्व गरिरहेका थिए।
एकीकृत पार्टीको एक वर्षभित्र महाधिवेशन गर्ने बताइएको छ। एकीकरणको आधारपत्र सार्वजनिक गर्दै दुई पार्टीले महत्वपूर्ण निर्णय तथा नियुक्तिमा दुई अध्यक्षको सहमतिमा हुने जनाइएको छ। साथै नवगठित पार्टीका अध्यक्षले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पनि निर्णय प्रक्रियामा सहभागी गराउने सहमति गरेका छन्।
धार्मिक सन्दर्भमा पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रलाई वैचारिक आधार तय गरिएको छ।
उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति अँगाल्ने नवगठित दलले वर्तमान संविधान कार्यन्वयनमा सहकार्य गर्ने उल्लेख गरेको छ।
दुई पार्टीको एकतापछि एक महिनाभित्र अन्तरिम विधान तय गर्ने बताइएको छ। पार्टीको चुनाव चिह्न हलो र पार्टीको झन्डा स्थापनाकालीन हुने बताइएको छ।
पार्टी एकता घोषणा आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।