काठमाडौं– नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले डा केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका छन्।
राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्दै देवले 'गोविन्द केसीसँग वार्ता गर्न यो सरकारलाई केको लाज लागिरहेको छ' भन्दै प्रश्न गरे।
'तुरुन्तै आजै वार्ता गरोस्। वार्ता टोली खडा होस्। प्रधानमन्त्री जी जानुहोस्, त्यसबाट प्रधानमन्त्रीको हाइट बढ्छ। प्रधानमन्त्री आफैं जानसक्नुभयो र गोविन्द केसीसँग कुरा गर्नुभयो भने उहाँको हाइट बढ्छ। माग पूरा गर्छु भनेर जुस खुवाउनुभयो भने उहाँकै उचाइ बढ्छ', उनले आग्रह गरे।
देवले राज्यले सम्झौता गर्ने तर लागू नगर्ने हो भने राज्यको विश्वसनीयतामा ह्रास आउने बताए। 'यदि राज्यले कुनै विद्रोही पक्षसँग लिखित रुपमा सम्झौता गरेर पनि लागू गर्दैन भने त्यो राज्यलाई कसरी विश्वास गर्छन् जनताले? विद्रोहीलाई कसरी विश्वास गर्छन्? राज्यको पोलटिकल क्रेडिबिलिटी र मोरालिटीमा प्रश्न खडा हुन्छ कि हुँदैन', उनले प्रश्न गरे।
राज्यले विद्रोहीसँग वार्ता गर्ने तर लागू नगर्ने व्यवहारले निरन्तरता पायो भने त्यसैकारण विद्रोहीहरुले गैरराजनीतिक बाटो अवस्था सिर्जना हुने बताए।
देवले डा केसीलाई विभिन्न पार्टीसँग जोडेर प्रचार गरेकोमा पनि असन्तुष्टि जनाए। भने, 'के डा केसी कांग्रेस हो? उहाँले कांग्रेसकै सरकार भएको बेलामा पटकपटक सत्याग्रह गर्नुभएको छ। के उनी कम्युनिस्ट हो? होइन। को हो गोविन्द केसी? कुनै पार्टीसँग उनको संलग्नता छ? त्यो पनि देखिँदैन।'
उनले डा केसी शिक्षा प्रणालीभित्र नयाँ मूल्य र मान्यताको प्रतीकको रुपमा खडा भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।