काठमाडौं – भारतीय जनता पार्टी (भाजपा)ले आसन्न लोकसभाको निर्वाचनमा सन् २०१४मा सम्पन्न १६औँ लोकसभाको निर्वाचनको तुलनामा कम सिट हाँसिल गर्ने अनुमान गरिएको छ। ‘द टाइम्स् नाउ–भिएमआई’ ले गरेको प्रारम्भिक मत सर्वेक्षणमा भाजपाले कुल ५४३ सिटमध्ये २५२ प्राप्त गर्ने अंकलन गरेको हो।
यस्तै भारतीय राष्ट्रिय कांग्रेस आईसहितको ‘यूपिए’ गठबन्धनले १४७ सिट र अन्य पार्टीले बाँकी १४४ सिट प्राप्त गर्ने मत सर्वेक्षणले देखाएको छ। मत सर्वेक्षणअनुसार सन् २०१४ मा भएको लोकसभा निर्वाचनको तुलनामा भाजपाले ३० सिट कम प्राप्त गर्नेछ । गत लोकसभा निर्वाचनको भन्दा कांग्रेसले १७औँ लोकसभाको निर्वाचनमा ९६सिट बढी ल्याउने छ। कांग्रेसले अघिल्लो लोकसभाको निर्वाचनमा ४४ मा मात्र विजयी भएको थियो। भारतको लोकसभामा प्रमुख विपक्षी दलको हैसियत प्राप्त गर्न खसेको कुलमतको १० प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ। कांग्रेसले प्राप्त गरेको ४४ सिटले कांग्रेसलाई लोकसभामा प्रमुख विपक्षीको हैसियत प्राप्त हुन सकेको थिएन।




खासगरी पूर्व भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको सरकारपछि पछिल्लो ३० वर्ष यता भारतमा भाजपा एक दलीय सरकार बनाउने पहिलो पार्टी बनेको थियो। मोदीको नेतृत्व क्षमता र वाकपटुताले नै २०१४ को लोकसभा निर्वाचनमा भाजपाले भारतीय जनतालाई आफूतिर आकर्षित गर्न सफल भएको विश्लेषण गरिन्छ। ‘धेरै भयो भ्रष्टाचार, अबको पालो मोदी सरकार’ भन्ने नारासहित २०१४ को लोकसभा निर्वाचनमा होमिएको भाजपालाई अन्ततः यही नारा र मोदी नेतृत्वले एक दलीय सरकार बनाउने हैसियत प्रदान गरेको थियो।
यसका अलावा भाजपाको मुल आधारको रुपमा रहेको हिन्दु धर्मको आडले पनि निर्वाचनमा विजयी बनाउन ठूलो सहयोग पुगेको विश्वास गरिन्छ। जुन कुरालाई भाजपाका नेताहरू स्वयम् स्वीकार गर्छन्। कुल ८० प्रतिशतको हाराहारीमा हिन्दु जनसंख्या रहेको भारतमा हिन्दु धर्मको मुद्धा निर्वाचनमा प्राथमिकताका साथ भाजपाले नै अघि ल्याएको हो। तर, मोदी सरकारको नीतिगत असफलतासँगै ४ वर्षअघि जनतामाझ रहेको मोदी र उनको सरकारप्रतिको विश्वास गुमेको अनुमान सर्वेक्षणकर्ताको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।