काठमाडौं– नेपाली कांग्रेस नेता मीनेन्द्र रिजालले प्रधानमन्त्री आफ्नो रुप हेरेर आफैं दंग पर्ने गरिरहेको बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै रिजालले प्रधानमन्त्री अधिनायवादी बाटोतिर अघि बढिरहेको संकेत गरे। 'प्रधानमन्त्रीजी हरेक दिन आफ्नो रुप ऐनामा हेरेर क्या गजब छु म, क्या गजबसँग देश चलाइरहेको छु भनिरहनुभएको छ', उनले भने, 'यो बाटोबाट चल्दैन। लोकतन्त्रको बाटो यो होइन।'
'हरेक अधिनायवादीहरु, इतिहासको अध्ययन गरौं। आफ्नो रुप हेरेर दंग पर्नेहरु अन्ततः अधिनायवादलाई लिएर आएका छन्। अधिनायवादी बाटोमा सरकारलाई हामी हिँड्न दिँदैनौं', रिजालकाे तर्क थियाे।
सरकारले कांग्रेस देखेकै छैन भन्ने गरेको विषयलाई पनि रिजालले व्यंग्य गरेका थिए। भने- 'कांग्रेस त देखेकै छैन भन्नुहुन्छ प्रधानमन्त्रीले। हो कांग्रेस राणाहरुले पनि देखेनन्। जुनबेला देखे, धेरै ढिलो भइसकेको थियो। कांग्रेसलाई महेन्द्रले पनि देखेनन्। कांग्रेसलाई नदेखेको महेन्द्रको अनुदारवादी व्यवस्थालाई ३० वर्षको संघर्षबाट बिदा गर्यो। ज्ञानेन्द्रले देखेनन् कांग्रेसलाई। उनलाई पनि बिदा गर्यो, राजतन्त्रको अन्त्य गर्यो। कांग्रेस नदेख्नेहरुको लाममा कोही पनि उभिएदेखि हामीलाई चिन्ता छैन।'
यसैबीच, शुक्रबारको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आफ्नाे स्थानबाट उठेका थिए। त्यसपछि सभामुखले मीनेन्द्र रिजाललाई बोल्ने समय दिएका थिए।
रिजालले आफ्ना नेताका नाममा खुलेका अस्पताल, चिकित्सा शिक्षा विधेयक, निर्मला पन्त प्रकरण, भेनेजुएला प्रकरणमा सरकारको प्रतिक्रिया, सभामुखको भूमिकाको विषयमा आफ्नो धारणा राखेका थिए।
'नेपालको लोकतान्त्रिक स्पेस जोगाउने कि नजोगाउने?, संविधानले दिएको बाटो जोगाउने कि नजोगाउने?, संसदीय मर्यादा र परम्परालाई बलियो बनाउने कि नबनाउने? हामीले त्यो बाटो समात्नुपर्छ। डा गोविन्द केसीको पनि ज्यान जोगिनुपर्छ', रिजालले भने, 'वार्ता र छलफलबाट काम गर्ने प्रशस्त अवसर छन्। विगतको अनुभवको आधारमा पनि सत्ता र प्रतिपक्ष एक ठाउँमा उभिएर कामहरु गर्न सक्छौं। त्यसरी काम गर्ने वातावरण बनोस्। त्यो वातावरण नबन्दासम्म प्रतिनिधिसभाको बैठको कारबाही अगाडि बढ्न सक्दैन।'
प्रतिनिधिसभाको अर्को बैठक आइतबारको लागि तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।