डोटी- तोकिएको समयभन्दा झन्डै एक वर्षपछि निर्माण हुन लागेको दिपायल विमानस्थलको कालोपत्रे अहिले द्रुत गतिमा भइरहेको छ। दिपायलसँगै निर्माण थालिएको अछामको साँफेबगर विमानस्थलको काम सकिएर परीक्षण उडान गरिसक्दासमेत यो विमानस्थलले गति लिन सकेको थिएन।
पछिल्लो समय विमानस्थलको धावनमार्गको निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीको जिकिर छ।
विमानस्थलको नाली निर्माण र तारबार लगाउने काम सकिएको र गिट्टी फिँजाएर अलकत्रा छर्ने काम मात्रै बाँकी रहेकाले आउँदो फागुन महिनासम्म कालोपत्रे पनि गरिसक्ने त्यहाँ कार्यरत सपना गाल्भा जेभी निर्माण कम्पनीले जनाएको छ। ६ करोड रुपैयाँको लागतमा सो विमानस्थल निर्माणका लागि बोलपत्र स्वीकृत गरिएको थियो।
करीब डेढ दशकभन्दा बढी समयसम्म बन्द रहेको उक्त विमानस्थल २०७५ असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने भए पनि निर्माण व्यवसायीको लापरबाहीका कारण एक वर्ष ढिलो गरी निर्माण हुन थालेको स्थानीयवासीले बताए।
४ सय ९५ मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग भएको उक्त विमानस्थल कालोपत्रे हुन थालेसँगै स्थानीयवासी हर्षित भएका दिपायल–सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताए। उनले भने, 'निर्माणकार्य पहिले नै सक्नुपर्ने हो तर फागुनमा सकिने जानकारी दिएकाले स्थानीयवासी खुसी भएका छन्।'
पछिल्लो समय विमानस्थलको काम देखेर वर्षौंदेखिको विमान सञ्चालन हुने सपना अब पूरा हुन्छ कि भन्ने आशा पलाएको अर्का स्थानीयवासी मोहन पनेरुले बताए। उनले भने, 'घरआँगनमै विमानस्थल हुँदासम्म पनि सञ्चालन नहुँदा आपतकालीन सेवाका लागि समस्या हुने गरेको थियो, अब समस्या समाधान हुन्छ कि?'
विमानस्थल सञ्चालनमा आउन सकेको खण्डमा सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका स्थानीयवासीलाई समेत हवाई यात्राका लागि सहज हुनुका साथै यहाँको पर्यटन क्षेत्रमा टेवा पुग्ने उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताए। विमलबहादुर विष्ट/रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।