क्वियाङ- दक्षिण-पश्चिम चीनको क्विचोका दुर्गम क्षेत्रमा बसोबास गर्ने गरिबीको रेखामुनि रहेका करिब ६ लाख ७० हजार नागरिकलाई विकसित समुदायमा लगेर सहज जीवनयापनका लागि प्रवन्ध गर्ने प्रान्तीय अधिकारीले जनाएका छन्।
बुधबार प्रान्तीय सरकारको वार्षिक सम्मेलनमा स्थानीय अधिकारीले भने, 'चीन सरकार र राष्ट्रपति सी जिनपिङको गरिबी निवारण अभियानअन्तर्गत सन् २०१९ मा गरीब जनतालाई सुगम वस्तीमा ल्याएर उनीहरूलाई सार्वजनिक सेवा, रोजगारीमूलक तालीम दिइने छ।' स्थानीय सरकारले कम्तीमा परिवारका एक जनालाई रोजगारी पनि दिने कार्यक्रम सार्वजनिक गरेको छ।
'उनीहरूलाई स्थानान्तरण गरेर राखिने वस्तीमा उनीहरूको पढाइका लागि विद्यालय, प्राथमिक विद्यालय, स्वास्थ्य केन्द्र वा औषधि उपचार केन्द्र पनि स्थापना गरिने छ, जसका कारण उनीहरूको शिक्षा तथा स्वास्थ्यको लागि सहज व्यवस्था हुनेछ', प्रान्तीय अधिकारीले बताए।
चीनका अति गरिब मानिसहरू रहेको क्विचो प्रान्तले १३औँ पञ्च वर्षे योजनाअन्तर्गत सन् २०१६ देखि २०२० सम्ममा १८ लाख ८० हजार गरिब नागरिकलाई गरिबीको रेखाभन्दा माथि उठाउने प्रयासअन्तर्गत यो कार्यक्रम तय गरिएको बताइएको छ।
स्थानान्तरणमार्फत गरिबी निवारण गर्ने कार्यक्रम चीन सरकारले विगत केही वर्षदेखि ‘प्रमुख अभियान’का रूपमा चलाएको छ। यो कार्यक्रमले चीनलाई छोटो समयमा धेरै नागरिकलाई गरिबीबाट मुक्त गर्न सम्भव भएको अधिकारीहरूले बताएका छन्।
चीनले सन् २०२० सम्म मध्यमरूपको समृद्ध समाज निर्माण गर्ने र गरिबी निवारण गर्ने लक्ष्य लिएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।