जनकपुरधाम– प्रदेश २ को 'बेटी पढाऊ, बेटी बचाऊ' कार्यक्रम अन्तर्गत सञ्चालनमा आएको 'बेटी शिक्षा बिमा'को लागि सरकार र प्रभु बैंकबीच बुधबार सम्झौता भएको छ।
माघ १ गते देखि जन्मिएको छोरीलाई प्रदेश सरकारले १ लाखको शिक्षा बिमा गरिदिने घोषणा गरे अनुरुप भएको उक्त सम्झौता पत्र मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरिएको हो। सम्झौता पत्रमा प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव हरिप्रसाद फुयाल र प्रभु बैंकका तर्फबाट सहायक महाप्रबन्धक अशोक खडगीले हस्ताक्षर गरेका छन्।
प्रदेश सरकार र बैंकबीच भएको सम्झौता अनुरुप लागू भएको पालिकाहरुका नवजात छोरी शिशुको अभिभावकले ६ महिनाभित्र आवश्यक कागजातसहित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा निवेदन दिनु पर्नेछ।
मुद्दती खाता मार्फत गरिने उक्त बिमाको रकम २० वर्षपछि सेवाग्राहीले एकमुष्ट १ लाख रकम प्राप्त गर्नेछन्। तर, खातावालाले बीचमै पढाइ छोडेमा २० वर्ष नपुगी विहे गरेमा वा बेपत्ता भएको प्रमाणित भएमा खातामा जम्मा भएको रकम कोषमा जम्मा हुनेगरी फिर्ता हुने व्यवस्थासमेत गरिएको छ।
खातावाला छोरीको मृत्यु भएमा वा निजलाई गम्भीर रोग लागेको प्रमाणित भएमा तथा अभिभावकको मृत्यु भएको अवस्थामा बालिकाको शिक्षामा असर पर्ने देखिएमा मन्त्रालयको सिफारिसमा खातामा जम्मा भएको रकमको साँवा ब्याज प्राप्त गर्न सकिने व्यवस्था रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।