काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई खुम्चिन नदिइने बताएका छन्।
आफूलाई स्विटजरल्यान्ड भ्रमणका क्रममा पनि नेपालमा लोकतन्त्र खुम्चिएको भन्दै जिज्ञासा राखिएको भन्दै उनले 'कुप्रचारको प्रभाव' भनेर जवाफ दिएको दोहोर्याए।
धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण गर्ने क्रिकेट रंगशालाको घोषणा तथा सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्र नखुम्चिने र खुम्चिन नदिइने बताए। 'तर, लोकतन्त्र, लोकतन्त्र नै हुनुपर्छ', उनले भने।
उनले भ्रष्टाचारीको अनुहार पनि नहेर्ने दोहोर्याए। 'सरकारको तर्फबाट भ्रष्टाचारको विरुद्धमा बोल्नेमात्र होइन', उनले थपे, 'भ्रष्टाचारलाई ठेगान लगाउने काम पनि गर्छु।'
प्रधानमन्त्रीले अहिले भ्रष्टाचारीलाई धमाधम कारबाही भइरहेको दाबी गरे। भ्रष्टाचारीलाई कारबाही गर्दा मान्छेहरुमा भ्रष्टाचार चलिरहेको भन्ने भ्रम परेको उनले दाबी गरे।
कार्यक्रममा अर्का वक्ता पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिलाई सफा गर्ने दायित्व राजनीतिज्ञकै हुने भन्दै एक दशकभित्र नेपालको राजनीति सफा हुने बताए।
'पोलिटिक्स इज डर्टी गेम भन्ने र पोलिटिक्स इज फेयर गेम भन्ने दुईथरि वैचारिक धार छ', प्रचण्डले भने, 'तपाईं हेर्नुहोला, दस वर्षभित्र नेपालको राजनीतिले सिंगो देशलाई एउटा नयाँ अभियानतिर लिएर जाने छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।