रसुवा- केही दिनदेखिको हिमपातका कारण बन्द भएको रसुवागढी नाकामा आजदेखि यातायात सेवा सञ्चालनमा आएको छ।
केरुङबाट सामान बोकेर आएका ट्रक तथा कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गर्न थालेको सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्म टिमुरेका गुल्मपती जीवन केसीले जानकारी दिए।
२० वटा ट्रक तथा कन्टेनर चिनियाँँ भू–भागबाट नेपाल प्रवेश गरिसेकेको र करीब ६० कन्टेनर मितेरी पुल नजिक चिनियाँँ भू–भागबाट नेपाल प्रवेश गर्ने क्रममा रहेको सशस्त्र प्रहरीले जनाएको छ।
यही माघ ८ गतेदेखि सुरु भएको हिमपातका कारण रसुवागढीदेखि केरुङसम्म चिनियाँँ भू–भागतर्फको राजमार्गमा भारी हिमपात भएकाले सामान आयातका लागि केरुङतर्फ गएका ३ सय भन्दा बढी ट्रक तथा कन्टेनर केरुङमा नै रोकिएका थिए।
चिनियाँ पक्षले हिउँ सडकबाट पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको हो। आज दिनभरमा २ सयको हाराहारीमा मालवाहक ट्रक तथा कन्टेनर नेपाल प्रवेश गर्ने अनुमान गरिएको गुल्मपती केसीले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।