काठमाडौं- राष्ट्रिय जनगणना–२०७८ को तयारी सुरु गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।
राष्ट्रिय तथ्याङ्क परिषद्को ३३औँ र राष्ट्रिय जनगणना राष्ट्रिय निर्देशक समितिको पहिलो बैठक संयुक्तरूपमा बसी जनगणनाका तयारीका बारेमा छलफल सुरु भएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलको अध्यक्षतामा बैठक बसेर तथ्यगत विवरणमा राखिने सूचक र आगामी २०७८ मा हुने राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन निर्देशिका स्वीकृतिको आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
योसँगै जनगणना–२०७८ को तयारीका लागि कानुनी आधारको सुरूवात भएको विभागले जनाएको छ। विसं १९६८ देखि सुरु भएको जनगणनाको यो १२औँ शृङ्खला हो। यसपटक ७ प्रदेश, ७७ जिल्ला समन्वय समिति र ७ सय ५३ स्थानीय तहमा छलफल गरी त्यहाँबाट आएका विचारलाई समेट्ने विभागको तयारी छ।
हालसम्म ६ वटा प्रदेशमा छलफल भइसकेको छ। कर्णाली प्रदेशमा भने छलफल कार्यक्रम गर्न बाँकी रहेको जनाइएको छ। तथ्याङ्कलाई भरपर्दो र विश्वसनीय बनाउन स्थानीय तहका वडास्तरसम्म सहकार्य गरिने निर्देशक लामिछानेले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।