पर्सा- वीरगञ्जको बिपी उद्यानमा सहिद पार्कको शिलान्यास गरिएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्तरुपमा सहिद पार्कको शिलान्यास गरेका हुन्।
प्रदेश सरकारले प्रदेशभर निर्माण गर्न लागेका ३ सहिद पार्कमध्ये एककाे आज शिलान्यास गरिएकाे हाे। वीरगञ्जको घन्टाघर नजिकै रहेको बिपी उद्यान तथा सप्तरीको मलेठ र भारदहमा पार्क निर्माण गर्ने सरकारले निर्णय गरेको थियाे।
सो अवसरमा मुख्यमन्त्री राउतले सहिदको बलिदानीबाट नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र र तीन तहको सरकारलगायतका उपलब्धि हासिल भएको धारणा व्यक्त गरे। उनले सहिदको बलिदानलाई सम्मान गर्दै वीरगञ्जमा निर्माण हुन लागेको सहिद पार्कमा जति रकम लागेपनि प्रदेश सरकारले ब्यहोर्न तयार रहेको स्पष्ट पारे।
भौतिक पूर्वधार विकास मन्त्री सोनलले सहिदको बलिदानलाई उच्च सम्मान गर्दै उहाँहरुको सम्झनामा प्रदेशको तीन स्थानमा शहीद पार्क निर्माण गर्ने प्रदेश सरकारले निर्णय गरेको जानकारी दिए। उनले वीरगञ्जको सहिद पार्कका लागि प्रदेश सरकारले हाल ७५ लाख रुपैयाँ विनियोजित गरेको जानकारी दिए।
शहरी विकास तथा भवन कार्यालयका निर्देशक सरोज गोइतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु प्रदीप यादव, प्रह्लाद गिरी, राजपाका महासचिव शिव पटेललगायतका वक्ताले जनताको अधिकारका लागि बलिदानी दिने सहिदको सम्मानमा पार्क निर्माण गरी प्रदेश सरकारले सराहनीय कार्य गरेको धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।