भीमदत्तनगर- कञ्चनपुरको भीमदत्तनगरस्थित विद्यार्थी सङ्गठनले गरेको बन्द आह्वानका कारण यहाँको जनजीवन प्रभावित बनेको छ।
सरकारी स्वामित्वमा रहेको जग्गामा बनेका अवैध संरचना भत्काउन माग गर्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएपछि विद्यार्थी सङ्गठनले मङ्गलबारदेखि कञ्चनपुर बन्द गर्दै आएका हुन्। बन्दका कारण बिहानैदेखि भीमदत्तनगरबाट चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालन हुनसकेका छैनन् भने भीमदत्तनगर बजार, शैक्षिक सङ्घसंस्था, उद्योग कलकारखानालगायतको कामकाजसमेत प्रभावित बनेको छ।
महेन्द्रनगर नगर विकास समितिबाट भाडाका नाममा बजारको गुरुयोजना नै मिचेर सयौँ पक्की संरचना बनेपछि यहाँका विद्यार्थी र युवा सङ्घ/सङ्गठन त्यसको विरोधमा उत्रेका हुन्। अवैध संरचना भत्काउन नमानेपछि आन्दोलन गर्नु परेको नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्दले बताए। बन्दका कारण सयौँ यात्रुहरु पूर्वपश्चिम राजमार्गमा अलपत्र छन्।
चन्दले भने, 'प्रक्रिया मिचेर पहुँचका भरमा सरकारी जग्गाको दुरुपयोग गरिएको छ।' अवैध जग्गा लिज खारेजी, निर्माण गरिएका अवैध संरचना भत्काउनुपर्ने र कानुन मिचेर जग्गा लिजमा दिने नगर विकास समितिका पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आन्दोलरत पक्षको माग छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवैध संरचना हटाउन थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।