काठमाडौं– विश्व प्रसिद्ध दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स रुस्लान धनगढी प्रिमियर लिग तेश्रो संस्करणको सद्भावना दूत नियुक्त भएका छन्।
आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीका अनुसार रोड्स लिग आयोजना अवधिभर धनगढीमा रहनेछन् र प्रतियोगिता दौरान विभिन्न कार्यक्रमहरुमा आबद्ध हुनेछन्।
दक्षिण अफ्रिकाको लागि ५२ टेस्ट र २४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्स आफ्नो फिल्डिङको कारण विश्व प्रसिद्ध छन्। त्यसैले उनलाई फिल्डिङका बादशाह समेत भनिन्छ।
सन् १९९२ को एकदिवसीय विश्वकपको दौरान पाकिस्तान क्रिकेटर इन्जमाम उल हकको रन आउटको कारण प्रख्यात रोड्सलाई त्यति बेला एउटा पत्रिकाले “के यो चरा हो ? के यो जहाज हो ? हैन, यो जोन्टि हो” लेखेको प्रसंग चर्चित मानिन्छ। हावामा उड्दै उनले गरेको रन आउट बिश्व क्रिकेटमा धेरै याद गरिने क्षण मध्येको एक हो।
रोड्स इन्डियन प्रिमियर लिग आईपीएल टिम मुम्बइ इन्डियन्सको २०१७ सम्म लगातार ९ सिजन फिल्डिङ कोच रहेका थिए भने श्रीलंका,दक्षिण अफ्रीका, केन्या जस्ता टिमहरुको प्रशिक्षण गरिसकेका छन्।
प्रतियोगिताको गुडविल एम्बासडरको रुपमा जोन्टिको आगमनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी ) र विश्व क्रिकेट जगतको ध्यान प्रतियोगितामा तानिने विश्वास लिएको अध्यक्ष शाहीले जनाएका छन्। उनको उपस्थितिले खेलाडी र खेल प्रेमीहरुलाई समेत उत्साह र प्रेरणा दिने शाहीको भनाइ छ।
जोन्टीलाई रुस्लान् डिपीएलमा आबद्ध गराउन 'स्पोर्ट्स एड' को भूमिका रहेको शाहीले जानकारी दिए।
दौरान जोन्टि सीवाईसी अत्तरिया टिमको मेन्टरको रुपमा समेत रहने छन्। यस्तै सीवाईसी अत्तरियाले रायन मरुनलाई टिमको प्रशिक्षकको रुपमा समेत नियुक्त गरेको छ। मरुन वेस्ट इन्डिज क्रिकेट टिमका पूर्वफिल्डिङ प्रशिक्षक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।