काठमाडौं– रुस्लान धनगढी प्रिमियर लिगको टिम विराटनगर किंग्सले २ विदेशी खेलाडी अनुबन्धन गरेको छ।
विराटनगरले भारतबाट प्रथम श्रेणीको क्रिकेट खेलिरहेका अभिनास यादव र शिभकान्त शुक्लालाई आबद्ध गरेको हो। दुवैले रेलवेजको लागि भारतको प्रतिष्ठित रन्जी ट्रफी प्रतियोगिता खेलीसकेका छन्।
अभिनाश देब्रे हाते स्पिनर हुन् भने शिभकान्त शुक्ला देब्रे हाते ब्याट्सम्यान हुन्। ३२ वर्षीय अभिनाशले २५ प्रथम श्रेणी क्रिकेटमा ७६ विकेट लिइसकेका छन्। यस्तै ३३ वर्षीय शिभकान्तले ८५ प्रथम श्रेणी क्रिकेटमा ४,१९८ रन बनाएका छन्।
विराटनगरको रणनीतिक खेलाडीको रुपमा करण केसी रहेका छन्। टिमका अन्य खेलाडीमा आरिफ शेख, कुशल भुर्तेल, पृथु बाँस्कोटा, किशोर महतो, सुशन भारी, हरिशंकर शाह, संसाद शेख, राजेश पुलामी, अर्जुन अधिकारी, अमित गुरुङ, तृत राज दास र सुवाश ऐर छन्।
डिपिएल आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुँदैछ । देशकै सर्वाधिक पुरस्कार राशिको डिपिएलमा धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किङ्ग्सले प्रतिस्पर्धा गर्नेछन्।
टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टोलीले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ। शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ। पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।