सिड्नी– आगामी वर्ष अस्ट्रेलियामा हुने पुरुष तथा महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरिएको छ।
पहिलो पटक पुरुष तथा महिला टी–२० विश्वकप एउटै वर्ष र एउटै देशमा हुन लागेको हो। जसअनुसार १० महिला टिमले २०२० को २१ फेब्रुअरीदेखि ८ मार्चसम्म प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ २३ खेल हुनेछन्।
पुरुषतर्फको टी–२० विश्वकप २०२० को १८ अक्टुबरदेखि १५ नोभेम्बरसम्म हुनेछ। जहाँ १६ टिमबीच प्रतिस्पर्धा हुनेछ भने ४५ खेल हुनेछन।
महिला तथा पुरुष दुवै विश्वकपको फाइनल मेलवर्नको एमसिजी मैदानमा हुनेछ।
पुरुष समूह विभाजन
पहिलो राउन्ड
पहिलो राउन्डको खेल १८ अक्टोबरदेखि २३ अक्टुबरसम्म हुनेछ। जहाँ २ समूहमा प्रतिस्पर्धा हुनेछ। समूह 'ए' मा श्रीलंकासहित ३ वटा छनोट भएका आउने टिमबीच प्रतिस्पर्धा हुनेछ। यो समूहको खेल गेलङमा हुनेछ। समूह 'बी' मा बंगलादेशसहित छनोट भएका ३ टिमबीच होबर्ट शहरमा प्रतिस्पर्धा हुनेछ। दुवै समूहबाट २–२ टिम सुपर १२ मा पुग्नेछन्।
सुपर १२
सुपर १२ मा सन् २०१८ को डिसेम्बर अन्तिमसम्म आइसिसी वरीयतामा रहेका ८ टिम सिधै पुगेका थिए। पहिलो राउन्डबाट छनोट हुने ४ टिम सुपर १२ मा पुग्नेछन्। सुपर १२ को खेल २४ अक्टवबार ८ नोम्बरसम्म हुनेछ।
समूह १ - पाकिस्तान, अस्ट्रेलिया, वेस्ट इन्डिज न्युजिल्यान्ड, पहिलो राउन्डको समू ए विजेता, पहिलो राउन्डको समूह बी उपविजेता
समूह २ - भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, पहिलो राउन्डको समूह बी विजेता, पहिलो राउन्डको समूह ए उपविजेता
छनोट प्रतियोगिता
सिधै विश्वकपमा छानिन असफल भएका टेस्ट टिमद्वय जिम्बावे र आयरल्यान्ड छनोट प्रतियोगिता खेल्दैछन्।
१४ टिमबीच हुने छनोट प्रतियोगिता अक्टोबर २०१९ मा हुनेछ। छनोट प्रतियोगितामा जिम्बावे र आयरल्यान्डहित अघिल्लो विश्वकप खेलेका स्कटल्यान्ड, नेदरल्यान्ड्स, हङकङ र ओमानले प्रतिस्पर्धा गर्ने पक्का भइसकेको छ। छनोट प्रतियोगिता खेल्ने बाँकी ८ टिमका लागि अहिले विभिन्न महादेशमा क्षेत्रीय छनोट भइरहेको छ।
१४ टिमबीच हुने छनोट प्रतियोगिताबाट ६ टिम टी-२० विश्वकपमा पुग्नेछन्। छनोट भएर पुग्ने ६ टिम तथा बंगलादेश र श्रीलंकाबीच टी–२० विश्वकपको समूह चरणमा प्रतिस्पर्धा हुनेछ। समूह चरणबाट ४ टिम सुपर–१२ मा पुग्नेछन्।
नेपालको बाटो
नेपालले टी–२० विश्वकपका लागि एसियाको पहिलो चरणको छनोट पार गरिसकेको छ। तीन महिनाअघि मलेसियामा भएको छनोट प्रतियोगिता जित्दै नेपाल एसिया छनोटको दोस्रो चरणमा पुगेको थियो।
दोस्रो चरणको छनोट आगामी मार्चमा हुने बताइएको छ। दोस्रो चरणको क्षेत्रीय छनोटमा नेपाल, यूएई, कतार, कुबेत, सिंगापुर र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। जहाँ शीर्ष २ भित्र पर्न सके नेपालले अक्टोबर २०१९ मा हुने टी–२० विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।
टी–२० विश्वकप छनोटमा जिम्बावेसहित अघिल्लो विश्वकप खेलेका ६ टिमले खेल्ने पक्का भइसकेको छ। क्षेत्रीय छनोट पार गर्ने बाँकी ८ टिम गरी १४ बीच छनोट हुनेछ। छनोटमा शीर्ष ६ स्थानमा परे नेपालले टी–२० विश्वकप खेल्न पाउनेछ।
त्यसैले नेपालले विश्वकप खेल्न आगामी मार्चमा हुने प्रतियोगितामा शीर्ष २ र अक्टोबरमा हुने प्रतियोगितामा शीर्ष ६ स्थान हात पार्नु पर्नेछ।
महिला छनोट
१० टिमबीच हुने महिला विश्वकपमा ८ टिम सिधैं छनोट भइसकेका छन्। अब २ स्थानका लागि छनोट प्रतियोगिता हुँदैछ।
थाइल्याण्डमा आयोजना हुने छनोट प्रतियोगिता आगामी फागुन ६ देखि १५ गतेसम्म हुनेछ। छनोट प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, युनाइटेड अरब ईमिरेटस् (युएई), मलेसिया, कुवेत, चीन र हङकङले प्रतिष्पर्धा गर्नेछन्।
राउण्ड रोबिनको आधारमा हुने सो छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा छानिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।