काठमाडौं– पहिलो एकदिवसीय क्रिकेट सिरिज जितेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले भविष्यमा अझ राम्रो खेल्ने प्रतिक्रिया दिएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई प्रतिक्रिया दिँदै पारसले आगामी दिनमा अझ मिहिनेत गरेर राम्रो खेल्ने बताएका हुन्। 'यो सुरुवात मात्र हो। हामी भविष्यमा अझ राम्रो खेल्नेछौं। भविष्यमा अझ परिश्रम गर्नेछौं,' उनको भनाइ छ।
यस्तै उनले जितमा सबै खेलाडीले शतप्रतिशतक खेलेको पनि बताए। उनले भने,'पहिलो एकदिवसीय सिरिज जित्दा एकदमै खुसी लागेको छ। जितमा सबैको उत्तिकै योगदान छ। हामीले राम्रो क्रिकेट खेल्यौं।'
उनले नेपाली समर्थकको पनि प्रशंसा गरेका छन्। 'जितपछि हामीलाई धेरै समर्थन र बाधइ आइरहेका छन्। यो नै हाम्रो ठूलो शक्ति हो। हामीलाई समर्थकले प्रत्येक पलमा साथ दिइरहेका छन्,' पारसले भने।
यसअघि नेपालले युएईविरुद्धको ३ खेलको एकदिवसीय सिरिज नेपालले २–१ ले जित्दै कीर्तिमान बनाएको थियो। गत वर्ष एकदिवसीय टिमको मान्यता पाएको नेपालले पहिलो पटक एकदिवसीय सिरिज जितेको हो।
पहिलो खेलमा युएईसँग ३ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा १ सय ४५ रनको जित निकालेर सिरिज बराबरी गरेको थियो। सोमबार भएको निर्णायक खेलमा नेपालले युएईलाई ४ विकेटले हराएर सिरिज कब्जा गरेको थियो।
सोमबार भएको खेलमा नेपालका लागि कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए। पारस म्यान अफ दि म्याच र म्याच अफ सिरिज बनेका थिए। जितसँगै नेपाल आइसिसीको वरियतामा पहिलो पटक समेत समावेश भयो।
युएई भ्रमणको दौरान नेपालले अब तीन खेलको टी–२० सिरिजत खेल्दैछ। पहिलो टी–२० खेल आगामी बिहीबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।